
क्यूज सिनेमाको एडिटोरियम २, मंगलबार दिउँसो साढे २ बजे भद्रभलाद्मीको बाक्लो उपस्थिति। दर्शक दिर्घाभन्दा अगाडि रहेको मञ्चमा केही थान सोफा अर्ध गोलाकार शैलीमा रखिएको थियो। उनै सोफातर्फ तेर्सिएका थिए, एकआध क्यामराका सेट पनि ।
प्रायजसो चलचित्र, म्यूजिक भिडियोका भव्य कार्यक्रम हुने यो एडिटोरियम अर्को भव्यताका लागि प्रतीक्षारत थियो। सेलिब्रेटी बैंकर अनिल केशरी शाह हातमा सानो कागज बोकेर ‘हेड माइक मिलाउँदै थिए। त्यत्तिकैमा हलमा बसन्ती परियारको ‘इन्ट्री’ भयो।
त्यही बसन्ती जसलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भएर २०७५ असोज ८ मा कावासोतीमा एसिड आक्रमणपछि पेटमा छुरा प्रहार गरिएको थियो।
दर्शक दिर्घामा बसेका एसिड अट्याक सर्भाइभरका सहयोगी अभियन्ता उज्जल थापा उनलाई स्वागत गर्न उठे। बसन्ती उनको दाहिने सिटमा बसिन्।
अनिलकेशरी शाहले भेला हुनुको औचित्य बताए। नबिल बैंकका सिइओ शाहले यो उपस्थिति बैंकको कुनै खाता, कर्जाको बारेमा नभई नबिलले शुरु गरेको ‘नबिल नारी’ कार्यक्रमको बारेमा भएको बताए।
नबिल बैंकले सामाजिक उत्तर दायित्व नीति अन्तर्गत योपल्ट विद्यालयको भवन, सडक, बत्ती, निर्माण भन्दा पृथक क्षेत्रमा भूमिका खेलेको थियो।
समाजका प्रेरणादायी पात्रलाई लिएर नबिल उत्प्रेरणा फैलाउने बाटो पाइला चाल्दै थियो।
यही कार्यक्रमको हिस्सा थिइन्, बसन्ती परियार।
परियार जसले ३ वर्ष अगाडि उक्त दुर्घटना सहेकी थिइन्, त्यसपछि अनेकौँ बाधा व्यवधानबीच अगाडि सरिरहेकी छन्। बढिरहेकी छन्। उनी अहिले बुटवलमा नेपाल आयल निगममा कार्यरत कर्मचारी हुन्।
नबिलले उनको जीवनलाई लिएर ‘जीवनमा हार्नु हुन्न भन्ने’ सन्देश दिनलाई बसन्तीको जीवनलाई लिएर डकुमेन्ट्री बनाएको थियो।
यही डकुमेन्ट्री प्रदर्शनको पूर्वसन्ध्यामा एउटा छलफल भयो। यो छलफलको शुरुवातमा बसन्तीले आफू कसरी यो दुर्घटनामा परे भन्नेबारेमा बताइन्। उनले आफू श्रीमानको काखमा सुरक्षित नभएको बताइन्।
अभियन्ता उज्जल थापा अहिले एसिड प्रहार गर्ने पीडकलाई २० वर्ष कैद र १० लाख क्षतिपूर्ति पाउनुपर्ने सजायको व्यवस्था हुनुपर्ने कानुन बनाउन लागिपरेका छन्। अहिले यी लगायत विषयमा अध्यादेश जारी भएको छ तर अन्तिम रुप आइसकेको छैन। अभियन्ता थापाले एसिड आक्रमणपछि बाँचेर पनि उनीहरुलाई समाजमा सामाजिक जीवन बिताउनको लागि धेरै समस्या भएको बताए।
यस्ता अपराध किन हुन्छन् भन्ने विषयमा एसएसपी दुर्गा सिंहले अहिलेसम्मको ट्रेन्डमा माया प्रेम अस्वीकार गर्दा महिलामाथि हिंसा गरेको पाइएको बताइन्। प्रेम अस्वीकार भयो भने रुपको घमन्ड गरेको भनी बुझ्ने गरेकोले त्यसैलाई खतम गराइदिने भनी आक्रमण गर्ने गरेको पाइएको उनले बताइन्। उनले यस्ता आक्रमण धेरैजसो महिलामाथि हुने गरेको बताइन्।
सुषमा कोइराला मेमोरियल अस्पतालमा कार्यरत डा. रोजिना शिल्पकारले एसिड लगायत अन्य जलनका बिरामीलाई अस्पतालसम्म ल्याउन नै ढिलो हुने गरेको र जलनपछि गर्नुपर्ने प्राथमिक उपचार नजान्दा बिरामीको स्थिति जटिल बन्ने बताइन्। उनले नेपालका सबै अस्पताल जलनका उपचारको लागि स्रोत साधन युक्त नभएकोले विरामीको उपचारका लागि ढिला हुने बताइन्। उनले सरकारले योतर्फ ध्यान आकर्षणका लागि आग्रह गरिन्।
नबिलको प्रयासपछि बसन्तीको प्रतिक्रिया
नबिलले बसन्तीको कथा भन्ने क्रममा उनका रहर सोधेको थियो। उनलाई ‘मोडल’ को रुपमा देखिन धेरै मन लाग्थ्यो रे। उनले सामाजिक सञ्जाल टिकटकमा धेरै किसिमका भिडियोहरु बनाउने गरेकी छन्। बसन्तीको यो रहरलाई नबिलले पूरा गरिदियो। नबिलले आफ्नो प्रोमोसनल कन्टेन्टमा राख्नुपर्ने मोडलमा बसन्ती परियारलाई एक वर्षको लागि नियुक्ति गरेको छ।
साथै डकुमेन्ट्री बनाएर नबिलले उनको रहरका कथा धेरैमाझ पुर्याएको छ। औपचारिक कार्यक्रमपछि खाजा खाँदै गर्दा भेटिएकी बसन्तीले आफू यो कदमले असाध्यै खुसी भएको र नबिल बैंक परिवारप्रति कृतज्ञ रहेको बताएकी छन्। ५ मिनेटको भिडियोले उनको अगाडिका जीवन र दुर्घटनापछिका सकस अनि परिवारको माया र भविष्यको सपना समेटिदियो। उनले भने अनुसार यो उसलाई खुसी भएर बाँच्नको लागि पाइला थियो।
फोटोसुटको लागि तयार हुँदा उनलाई विश्वासै लोगेको थिएन उनी पनि मोडल बन्दैछिन्। नबिलले दिएको साथ उनको लागि एसिडले बनाएको घाउको मल्हम बन्यो।