
धनगढी-दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्र्याक खुलेको छ ।
कैलालीको चुरे गाउँपालिका-१ बबैना-ओजेना तीन किलोमिटर सडकखण्डको ट्र्याक खुलेसँगै खुटिया-दिपायल द्रुतमार्गको ट्र्याक पूरा भएको हो ।
धनगढी-दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्र्याक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ ।
कैलाली खण्डमा पर्ने बबैना-ओजेनामा तीन किलोमिटरमा ट्र्याक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जिनियर दिनेश रैखोलाले जानकारी दिए।
विसं २०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्र्याक खोल्ने कार्य थालिएको थियो ।
त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी-दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।
अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ ।
खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो ।
ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जिनियर रैखोलाले बताए ।
उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको जानकारी दिए ।
धनगढी-दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३.४ किलोमिटर र डोटीको दिपायलबाट ९.५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाका इञ्जिनियर रैखोलाका अनुसार धनगढी-स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ ।
यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा सो द्रुतमार्गको ट्र्याक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उनले बताए ।