मोरङ – नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सवारीसाधन प्रदेश सभालाई बुझाएका छन्।
सोमबार विराटनगरस्थित प्रदेशसभालाई दलका नेता कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको सवारी बुझाएको बताए। निर्वाचन आइरहँदा त्यसको तयारीमा लागेको बताएका उनले सरकारी सम्पत्ति समयमा नै आफूले बुझाएको जानकारी दिए।
समानुपातिक उम्मेदवारको मनोनयनसँगै पद रिक्त हुने कुरा आइरहेको हुँदा सरकारी सम्पत्ति बुझाएको कोइरालाले बताए। उनले भने, ‘अन्यले के गर्नुहुन्छ थाहा भएन। तर, समयमै सरकारी सम्पत्ति बुझाएको हुँ। यसमा भोलिका दिनमा नैतिकताको प्रश्नसमेत आउन सक्ला।’
कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन्। सो क्षेत्रबाट सिताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम प्रत्यक्षका लागि सिफारिस भएको छ।
कोइराला भन्छन्, ‘प्रत्यक्षमा नाम सिफारिस भएको छ। प्रदेशसभाको अनुभव अब केन्द्रीय तहमा लिन सकिन्छ। प्रदेशसभामा आफूले खेलेको भूमिकालाई पार्टीले न्याय गर्नेछ भन्ने लाग्छ।’
अघिल्लो पटक पार्टीले दिएको जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको बताएका उनले यस पटक पनि पार्टीकै निर्देशनमा अघि बढ्ने बताए। कोइराला २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट १७ हजार ८ सय ९२ मतसहित विजयी भएका थिए। उनले नेकपा एमालेका रामप्रसाद महतोलाई १ हजार ४ सय १७ मतको अन्तरले पराजित गरेका थिए।
प्रदेशसभाका प्रवक्ता चन्द्रमणि पोखरेलका अनुसार कोइरालासँगै अन्यले पनि सवारी बुझाउने विषयमा जानकारी लिएका छन्। प्रवक्ता पोखरेलका अनुसार सरकारको सम्पत्ति कहिलेसम्म बुझाउने भन्ने विषयमा अन्यौल नै रहेको छ।
उनले भने, ‘केन्द्रबाट प्रष्ट जानकारी आइनसकेको हुँदा अन्यौल नै छ। केही अन्य माननीय ज्युहरुले समेत सवारी बुझाउनेबारे कुरा सोधिरहनु भएको छ। तर, प्रस्ट रुपमा भन्न सकेका छैनौँ। यसबारे केही दिनपछि प्रष्ट कुरा आउला।’

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































