मोरङ – राजनीतिक दलहरुले संविधानले निर्दिष्ट गरेको संख्यामा महिलालाई आउँदो निर्वाचनमा सहभागी गराउनुपर्नेमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रुकमिणी कोइरालाले जोड दिएकी छन्।
नेपाल महिला संघकी पूर्व उपाध्यक्षको जिम्मेवारीवहन गरिसकेकी कोइरालाले राजनीतिक दलहरुले महिलालाई राजनीतिमा स्थापित गराउन कन्जुस्याइँ गरेको बताइन्।
देश सञ्चारसँगको संक्षिप्त कुराकानीमा नेत्री कोइरालाले महिलालाई निर्वाचनसँगै विभिन्न अवसरका लागि क्षेत्र छुट्टाएर अघि बढाउन आवश्यक हुनेमा जोड दिइन्।
विगतमा महिलालाई ५ प्रतिशतमा सीमित गरिए पनि संविधानमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधान सकारात्मक भएको उनको भनाइ छ। तथापि, पार्टीले अझै पनि महिलाको उपस्थितिलाई ३३ प्रतिशतभन्दा कममा सीमित गर्ने गरेको उनको गुनासो छ।
उनी भन्छिन्, ‘हामी महिला पनि पुरुषसरह प्रतिस्पर्धा गर्न सक्छौँ। हिजोको दिनको तुलनामा केही हदसम्म उपस्थिति बढेको देखिन्छ तर समग्रमा पार्टीले अझै पनि महिला हक अधिकार र अवसरलाई समान रुपमा वितरण गर्न सकेको पाइँदैन।’
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा जेलनेल भोगेकी कोइरालाले दलीय गठबन्धनका कारण महिला अधिकार खुम्चिएको बताइन्। आउँदो निर्वाचनमा कांग्रेसले कम्तिमा एक सय सिट लिनुपर्नेमा जोड दिँदै नेत्री कोइरालाले भनिन्, ‘गठबन्धनमा बलियो कांग्रेस नै हो। जसअनुसार कांग्रेसले कम्तिमा एक सय सिट लिनुपर्छ। त्योभन्दा तलको संख्यामा कांग्रेस झर्न हुन्न। एक सय सिटमा धेरै आकांक्षीलाई समेट्न सकिन्छ।’
‘दलीय गठबन्धनमै पनि कांग्रेसले जितेको स्थानमा आफैले लिनुपर्छ। जनताको विश्वास र अभिमतलाई पार्टीले सम्मान गर्दै न्याय गर्न सक्नुपर्छ,’ कोइरालाले थपिन्।
केन्द्रीय सदस्य कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसले उम्मेदवारी दिनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेसको दाबी रहन्छ, गठबन्धनले बुझ्न आवश्यक छ।’
उनले १४ औं महाधिवेशनको मनमुटाव सकिसकेको र आउँदो निर्वाचनमा सबै एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताइन्। हाल उदयपुर जिल्लामा जनताको साथमा कांग्रेस अभियानको जिम्मेवारीवहन गरिरहेकी नेत्री कोइरालाले उदयपुरमा कांग्रेसको अवस्था बलियो रहेको दाबी गरिन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































