काठमाडौँ- २ मा एक स्वरः टुरिस्ट उम्मेदवार बोक्दैनौँ

काठमाडौँ- २ मा एक स्वरः टुरिस्ट उम्मेदवार बोक्दैनौँ
+
-

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौँ- २ बाट मंसिर ४ गते हुने चुनावमा उम्मेदवार नबन्ने निश्चित भएसँगै त्यस क्षेत्रका लागि वैकल्पिक उम्मेदवारको खोजी जारी छ।

नेपाल काठमाडौँ छाडेर रौटहट- १ जाने भएपछि त्यस क्षेत्रमा गठबन्धनका तीन दल समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सशक्त दाबी प्रस्तुत गरेका छन्।

समाजवादीले यसअघि अध्यक्ष नेपाल आफैँले जितेको क्षेत्र भएकाले आफूले नै पाउनुपर्ने दाबी गरेको छ भने कांग्रेसले नेपाल उम्मेदवार नबन्ने अवस्थामा स्वाभाविक रूपमा आफूले पाउनुपर्ने अडानमा छ।

माओवादी केन्द्र भने नेपाल पछि हटेको अवस्थामा आफूलाई काठमाडौँमा उभिनका लागि भए पनि २ नम्बर क्षेत्र दिनुपर्ने मत राखिरहेको छ। बालुवाटारमा तीनै दलले काठमाडौँ- २ मा दाबेदारी प्रस्तुत गरिरहँदा उम्मेदवार भने ‘नेता व्यवस्थापन’का लागि क्षेत्र बाहिरबाट ‘टुरिस्ट’ उम्मेदवार ल्याउने मनसायका साथ गरिरहेका छन्।

निर्वाचन क्षेत्र वा जिल्ला तहमा काम गरेकाहरूलाई भन्दा पनि माथिल्लो तहका नेता व्यवस्थापनका लागि उम्मेदवार बनाउने प्रयासप्रति तीनै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। कांग्रेस, माओवादी र समाजवादी तीनै पार्टीका स्थानीय नेताहरू लादिएको उम्मेदवार अस्वीकार गर्ने बताउन थालेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफू नउठेपछि पार्टी उपाध्यक्ष प्रमेश हमाललाई काठमाडौँ- २ मा उम्मेदवार बनाउन चोहका छन्। तर हमाललाई उम्मेदवार स्वीकार गर्न समाजवादीका नेता कार्यकर्ता तयार छैनन्।

क्षेत्रबाट एकल सिफारिसमा परेका नेपाल नउठ्ने भएपछि त्यहाँबाट अर्को व्यक्तिको नाम मागेका छैनन्। हमाललाई नै प्रवेश गराउन उद्देश्यका साथ अर्को व्यक्तिको नाम नमागिएको हो।

समाजवादी निकट अखिलको केन्द्रीय सचिवालय सदस्यसमेत रहेका क्षेत्रका सक्रिय कार्यकर्ता रूपक दाहाल बाहिरबाट उम्मेदवार ल्याउने कुरा स्वाभाविक नहुने बताउँछन्।

डा. रमेश ढकाल

उनले भने, ‘हाम्रो पार्टी अध्यक्ष उम्मेदवार नहुँदा स्वाभाविक रूपमा क्षेत्रभित्रबाटै विकल्प दिनुपर्छ। हामीले यसअघि पटक-पटक स्थानीय नेतृत्व स्थापित गर्ने अवसर गुमाएका छौँ। यसपटक पाउनुपर्छ। टुरिस्ट जसरी ल्याएका उम्मेदवार बोकेर जनतासमक्ष जान सकिँदैन।’

उनले नेतृत्वले २०७१ को उपचुनावमा एमालेले कृष्णगोपाल श्रेष्ठलाई क्षेत्र बाहिरबाट ल्याउँदा आएको परिणामलाई मनन गर्न सुझाव दिए। समाजवादीमा नेपालको विकल्पमा क्षेत्रभित्रबाट डा. रमेश ढकाल र नितेश पौडेलेको नाम चर्चामा छ। स्वास्थ्यमन्त्री भवानी खापुङका विज्ञ सल्लाहाकार समेत रहेका ढकाल पार्टी काठमाडौँ जिल्ला कमिटी सचिवालय सदस्य हुन्।

पार्टी विभाजनमा महत्त्वपूर्ण भूमिका खेलेका ढकाल अध्यक्ष नआउँदा स्वाभाविक रूपमा आफूले अवसर पाउनुपर्ने बताउँछन्।

ढकालले भने, ‘अध्यक्षबाहेक बाहिरबाट अरू उम्मेदवार ल्याउँदा जनतामा जान गाह्रो हुन्छ।’

त्यस्तै, युवा संघको केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्यसमेत रहेका पौडेल पनि आफू उम्मेदवारको आकांक्षी रहेको बताउँछन्। क्षेत्रको इन्चार्जसमेत रहेका पौडेल भन्छन्, ‘म दिनरात नभनी क्षेत्रमै सक्रिय छु। त्यसो हुँदा मेरो पनि दाबी छ।’

त्यस क्षेत्रका लागि कांग्रेसबाट संविधानसभा सदस्य दीपक कुइँकेल, लोकेश ढकाल, डा. माधवी भट्ट पराजुली र क्षेत्रीय सभापति कविर शर्माको नाम सिफारिस भएकाे छ। माओवादी र समाजवादीको तुलनामा आफ्नो पार्टीको जनमत निकै माथि भएकाले आफूले पाउनुपर्ने दाबी कांग्रेसको छ। कांग्रेसबाट सशक्त उम्मेदवारको रूपमा देखिएकी भट्ट काठमाडौँ- २ मा अरू पार्टीका उम्मेदवारले चुनाव जित्न नसक्ने दाबी गर्छन्।

डा. माधवी भट्ट

‘काठमाडौँ- २ मा केका लागि बाहिरबाट उम्मेदवार ल्याउने? न यहाँ महिलाको कमी छ, न युवाको अभाव, न क्षमतावान व्यक्तिको नै कमी?’, उनले अगाडि भनिन्, ‘यस क्षेत्रले स्थानीय रूपमा प्रभाव र राष्ट्रिय पहिचान भएका व्यक्ति खोजेको छ। त्यस्ता उम्मेदवार हामी यहीँ छौँ।’

उनले उम्मेदवारका रूपमा बाहिरबाट आउन लागेका पूर्वसभामुख ओनसरी घर्ती र प्रमेश हमाललाई व्यक्तिगत रूपमै चुनाव नजित्ने ठाउँमा नआउन सुझाव दिएको बताइन्।

उनले देश सञ्चारसँग भनिन्, ‘मैले उहाँहरूलाई व्यक्तिगत रूपमै क्षेत्रको अवस्थाका बारेमा बताएको छु। नजित्ने ठाउँमा उम्मेदवार बनेर उहाँहरू आउनुहुन्न भन्ने मेरो विश्वास छ।’

भट्टले शीर्ष नेताहरूलाई पनि काठमाडौँ- २ का बारेमा स्वाभाविक निर्णय लिन आग्रह गरेको सुनाइन्। ‘मैले नेताहरूलाई पनि आग्रह गरेको छु। क्षेत्रमा माथि बसेर खेलवाड नगर्नुहोस्। यसले राम्रो परिणाम दिन्न’, उनले भनिन्।

क्षेत्रभित्रैबाट उम्मेदवार बनाउनुपर्ने आवाज माओवादी केन्द्रभित्र पनि उत्तिकै बलियो छ। माओवादीले रोल्पाका झक्कु सुवेदी र स्थानीय कृष्णराज सुवेदीलाई सिफारिस गरेको छ। माओवादीले केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्तीलाई पठाउन खोजे पनि स्थानीय पार्टीपङ्क्ति त्यसप्रति खुसी छैन। निर्वाचन क्षेत्रको खोजीमा रहेकी घर्तीका लागि अध्यक्ष प्रचण्डले काठमाडौँमा स्पेस बनाउन खोजे पनि त्यति सजिलो देखिँदैन।

कृष्णराज सुवेदी

एमाले पृष्ठभूमिका कृष्णराज काठमाडौँमै पुराना कम्युनिस्ट नेतामध्ये पर्छन्। माओवादीको भागमा परेको अवस्थामा उनलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने मत छ। माओवादीका जिल्ला कमिटी सदस्य राजु दंगाल माओवादीले काठमाडौँ- २ पाएको अवस्थामा सबैभन्दा उपयुक्त उम्मेदवार नै कृष्णराज भएको बताउँछन्।

उनले भने, ‘माओवादीले अवसर पाउँदा कृष्णराजजीलाई नै पार्टीले अघि सार्नुपर्छ। त्यसका लागि हामी पार्टीभित्र संघर्ष गछौँ, हाम्रा लागि उहाँ नै सबैभन्दा उपयुक्त पात्र हो।’

२०६४ मा त्यहीँ क्षेत्रबाट माधव नेपाललाई पराजित गरेका झक्कु माओवादीभित्रै ‘फिरन्ते’ नेताका रूपमा परिचित छन्। चुनाव जितेपछि लगभग क्षेत्र नफर्किएका उनी २०७४ सालको चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारको रूपमा काठमाडौँ- ६ बाट चुनाव लडेका थिए।

देशभर वाम गठबन्धनका उम्मेदवार विजयी हुँदा सुवेदी भने त्यहीँ ‘फिरन्ते’ पहिचानका कारण कांग्रेसका भीमसेनदास प्रधानसँग हारे। यसपटक काठमााडौँ- २ बाट उनको सिफारिस सम्मानका लागि मात्रै भएको माओवादीका स्थानीय नेता बताउँछन्।

त्यहाँबाट एमालेले मणिराम फुयाललाई एकल सिफारिस गरेको छ। अहिले प्रदेशसभा सदस्य रहेका फुयाललाई एमालेले सर्वसहमत सिफारिस गरेकाले उनले नै टिकट पाउने पक्कापक्कै जस्तै छ।

एमालेभित्र पनि ‘टुरिस्ट’ उम्मेदवार जान खोजे पनि क्षेत्रीय कमिटीले नै त्यसलाई अस्वीकृत गरेको थियो। नेतृ बिन्दा पाण्डेले त्यहाँबाट चुनाव उठ्ने प्रयास गरे पनि उनलाई क्षेत्रीय कमिटीले नै पत्याएन।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा एमाले पहिलो पार्टी हो। त्यहाँ एमालेले १७३२८, कांग्रेसले १४१२८, एकीकृत समाजवादीले ७९११, राप्रपाले ७२०० र माओवादीले ३१३१ मत पाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?