
काठमाडौँ – आउँदो चुनावमा समान अवसरको माग गर्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन पक्षले एक लौटी गरेको र प्रत्यक्षतर्फ पनि आफ्नो समूहलाई अवसर दिन आनाकानी गरिएको भन्दै कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना दिएको हो। धर्नाको नेतृत्व युवा नेता गुरुराज घिमिरेले गरेका छन्।
कोइराला पक्षबाट शेखर आफैँ र महामन्त्री गगन थापाले घिमिरेसहितका नेताहरूलाई अघि सारेर संस्थापन पक्षमाथि ४० प्रतिशत अवसरका लागि दबाब दिँदै आएका छन्।
आयोगमा बुझाएको बन्दसूचीमा कोइराला पक्षका ज्यादै न्युन मात्रै परेका छन्। त्यही विरोधमा उनीहरू घोषित रूपमै आन्दोलनमा उत्रेका हुन्। नेता घिमिरेले आफूहरू पेलेर अघि बढ्न खोजे गठबन्धनलाई नै असफल पारित दिने चेतावनी दिँदै आएका छन्।
त्यस्तै, उनले आफ्नो पक्षलाई पेलेर अघि बढिएर चितवन- ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन्।
संस्थापन इतर पक्षले पार्टी कार्यालय सानेपामा धर्ना दिइ रहँदा नेताहरू भने समानुपातिकको सूची हेरफेरका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन्।
संस्थापन पक्ष कोइराला समूहले व्यक्ति गरेको असन्तुष्टि सम्बोधन गर्न तयार भएपछि नाम हेरफेरका लागि नेताहरु छलफलमा जुटेका हुन्। निर्वाचन आयोगले असोज १६ गतेसम्म समानुपातिक तर्फको बन्दसूची सच्याउन दलहरूलाई समय दिएको छ।