नेपालगञ्ज – लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले प्रशिक्षण दिएको छ ।
नेपालगञ्जमा आयोजना गरिएको दुई दिने प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् ।
प्रतिनिधि सभाको म्याद सकिँदासमेत सभामुख जस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने,’कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’
आयोगले निर्वाचन आचार संहिता लागु गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिता पालना भए नभएको अनुगमन गर्न विशेष अनुगमन टोली नै गठन गर्ने जानकारी दिए । उनले तिनै तहका कर्मचारीलाई गोप्य ढंगले परिचालन र यस्तो टोलीले दिएको प्रतिवेदनका आधारमा उम्मेदवारलाई कारबाही गर्ने बताए ।
यसपाली आयोगले उम्मेदवारी दर्ता भएकै दिनमा खर्च विवरण ३० दिनभित्र बुझाउँछु भनि दस्तखस्त गर्न लगाउने भएको छ । गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले समयमै खर्च विवरण नबुझाउँदा ठूलो संख्या जरिवानाको सूचीमा परेका छन् ।
आयोगले यसपाली दल र उम्मेदवार भएकाको मात्रै चुनाव चिन्ह राख्ने जनाएको छ । यसो गर्दा मत बदर संख्या घट्ने र मतदान पनि छिटो हुने आयोगले विश्वास लिएको छ । कतै पनि निर्वाचन दोहोर्याएर गर्नु पर्ने अवस्था आउन नदिन सुुरक्षाको व्यवस्था मिलाउने आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सकिएको ४८ घण्टाभित्रै मतगणना सम्पन्न गर्ने मुख्य निर्वाचन अधिकृतलाई पुरस्कार दिने खुलासा गरे । ‘मतदान भएको ४८ घण्टाभित्रै मतगणना सक्ने मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन दिवसका दिन निर्वाचन अवार्ड दिने सोचेका छौँ’ तीन प्रदेशका मुख्य निर्वाचन अधिकृत सम्मिलित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत थपलियाले भने,’अवार्ड दिने विषयमा निर्णय गर्न बाँकी छ ।’
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको छ । प्रशिक्षण दुई दिनसम्म चल्नेछ ।

भर्खरै
लोकप्रिय






































































































































































































