काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण दसैँको टीकापछि मात्रै गर्ने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने कार्यक्रम रहेकाले दसैँअघि टिकट वितरण संभव नदेखिएको हो।
अध्यक्ष ओली आज सोमबार झापा गएका छन्। ओलीका पिता झापामा नै भएकाले उनी टीका लगाएर मात्रै काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी महासचिव शंकर पोखरेल दाङ र उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल छन्।
अध्यक्षसहित शीर्ष नेताहरू गृह जिल्लातिर भएका कारण दसैँको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुनेछ।
एमाले सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो। तर अन्य नेताहरुसँग पनि छलफल गर्नुपर्ने हुँदा दसैँ अगाडि टिकट वितरणको सम्भावना नभएको हो।
पाँच दलीय सत्ता गठबन्धनले झण्डै दुई महिनादेखि सिट बाँडफाँटको गृहकार्य गर्दा पनि टुंग्याउन सकेको छैन। टिकटको भागबन्डाको कारण दलहरुको असन्तुष्टि छताछुल्ल भएको छ।
सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसको असन्तुष्ट समूहले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्नेसम्मको तयारी भएको चर्चा छ।
पछिल्लो समय कांग्रेसको असन्तुष्ट डा. शेखर कोइराला समूहले ओलीसँग चुनावी सहकार्यबारे छलफल गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































