
सुनसरी – एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले मोरंग र सुनसरीमा ६ वटा सिट पाएको छ।
जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार एमालेसँगको समीकरणसंगै मोरङ र सुनसरीमा समान १ स्थानमा प्रतिनीधि सभातर्फ प्रत्यक्ष उम्मेद्वारी रहनेछ ।
त्यसैगरि, प्रदेश सभाका लागि मोरङमा ३ र सुनसरीको १ स्थानमा उम्मेद्वारी दिने पक्का भएको अध्यक्ष यादवले बताए ।
एमालेसँगको समीकरणमा मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनीधि सभातर्फ यादवको उम्मेदवारी रहने भएको छ ।
यादवले भने, ‘मोरंगको क्षेत्र नम्बर ५ मा प्रतिनीधि सभातर्फ प्रत्यक्षको उम्मेदवार हुने भएको छु । त्यसबाहेक सुनसरी क्षेत्र नम्बर १ मा अशोक राई र बाँकी ४ स्थानमा प्रदेश सभाको सिट पक्का भएको छ। मोरङको क्षेत्र नम्बर ५ जसपाको आधार क्षेत्र भएको हुँदा निर्वाचन मतपरिणाम सकारात्मक हुनेछ ।’
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मोरंग क्षेत्र नम्बर ५ मा जिल्ला अध्यक्ष यादव १८ हजार ६ सय ४९ मतसहित तेस्रो स्थानमा रहेका थिए । यस क्षेत्रबाट तत्कालिन समय एमालेसंग समीकरण गरेको नेकपा माओवादीका नेताले जित निकालेका थिए ।
यस क्षेत्रबाट एमालेले जीवन बिकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र मण्डललाई पछाडि सारेको छ । मण्डलको नाम एमालेतर्फबाट एकल रुपमा सिफारिसमा परेको थियो ।
त्यस्तै एमालेसंगको समीकरणमा जसपाले प्रदेशतर्फ मोरंगको क्षेत्र नम्बर ५ को ‘ख’, ४ को ‘ख’ र ६ ‘ख’ मा उम्मेदवारी दिने भएको छ । जसपा मोरंगका अनुसार क्षेत्र नम्बर ५ को ‘ख’ मा प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, ४ को ‘ख’ मा सञ्जयसिंह र ६ को ‘ख’ मा राजेन्द्रप्रसाद गुप्ताको उम्मेदवारी रहनेछ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा जसपाका नेता जयराम यादवले क्षेत्र नम्बर ५ को ‘ख’ मा ११ हजार २ सय १ मतसहित जित निकालेका थिए । उनी हाल प्रदेश १ सरकारका स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहेकाछन्।
त्यसैगरि, क्षेत्र नम्बर ४ को ‘ख’ मा श्रीराम कामत तेस्रो स्थानमा रहेका थिए। मोरंगको क्षेत्र नम्बर ६ को ‘ख’ मा भने श्याम कुमार कामत तेस्रो स्थानमा रहेका थिए।
सुनसरी क्षेत्र नम्बर १ तर्फ प्रतिनीधि सभाको प्रत्यक्षमा अशोक राईले उम्मेदवारी दिने भएका छन्।
२०७४ सालको निर्वाचनमा राई २२ हजार १ सय २३ मतसहित दोस्रो स्थानमा रहेका थिए । उनी एमालेका नेता जयकुमार राईसंग पराजित भएका थिए। सुनरीको क्षेत्र नम्बर ४ को ‘ख’ हरिगोविन्द यादव तेस्रो स्थानमा रहेका थिए।