
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता घनश्याम भुसाललाई पनि टिकट नदिने भएका छन्।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ओलीले आफूसँग फरक मत राख्ने भुसाललाई पनि टिकट नदिने भएका हुन्।
भुसालले अघिल्लोपटक जितेको रुपन्देही ३ मा राप्रपालाई दिएर चुनावी गठबन्धन गर्ने भएका हुन्। ओलीले आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावललाई टिकट नदिने निर्णय लिएका छन्।
अछाम १ बाट एकल सिफारिस भएका रावललाई पन्छाएर ओलीले त्यहाँ झपड बोहोरालाई टिकट दिने भएका छन्।
एमाले र राप्रपाबीच मंसिरमा हुने चुनावमा तालमेल गर्ने निर्णय भएको छ। सुरुमा ताते पनि राप्रपाको धेरै सिट दाबी गरेपछि सेलाएको दुुई दलको तालमेल गर्ने प्रस्ताव अन्तिम समयमा फेरि तातेको छ।
शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता प्रकाशचन्द्र लोहनीसहित नेताहरु ओली निवास बालकोट पुगेर कुराकानी गरेका छन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार शुक्रबारको छलफल थप सकारात्मक भएकाले शनिबार दुई दलबीच औपचारिक सहमति हुनेछ।
अहिलेसम्म दुई दलबीच भएको समझदारीअनुसार रुपन्देही ३ सहित अध्यक्ष लिङ्देनका लागि झापा ३ र धवल शमशेरका लागि बाँकेमा एक निर्वाचन क्षेत्र छाड्न एमाले तयार भएको छ।
राप्रपाका एक नेताका अनुसार एमालेसँग उसले प्रतिनिधिसभामा कम्तिमा १० सिट लिनेछ।