
मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुली प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएका छन् ।
काठमाडौँमा आइतबार बिहान सकिएको कांग्रेसको आन्तरिक छलफलबाट केन्द्रीय सदस्यद्धय अर्याल, पराजुली, युवा नेता गुरुराज घिमिरे, प्रदेश १ का मन्त्रीद्धय केदार कार्की, शेखरचन्द्र थापा, लगायतले टिकट हात पार्न सफल भएका हुन् ।
मोरंग क्षेत्र ३ को ‘क’ मा शेखरचन्द्र थापाले टिकट पाएका छन् । सो क्षेत्रको ‘ख’तर्फ भने गठबन्धनको उम्मेदवारी रहनेछ । समानुपातिकतर्फबाट प्रदेश सभासदस्य हुँदै वन वातावरण तथा भूसरंक्षण मन्त्रालयको जिम्मेवारीवहन गरेका थापाले प्रदेशको टिकट पाएको एक पदाधिकारीले जानकारी दिए ।
क्षेत्र नम्बर ३ मा उनलाई टिकट दिलाउन प्रतिनिधि सभासदस्यका उम्मेदवार सुनिल शर्माले अहम भूमिका खेलेको बताइएको छ । यसअघि सो क्षेत्रबाट सूयर्माराज राई निर्वाचित भएका थिए ।
त्यसैगरी, क्षेत्र नम्बर ४ को ‘क’तर्फ गुरुराज घिमिरे र ‘ख’तर्फ केन्द्रीय सदस्य भीम पराजुली उम्मेदवार हुने भएका छन् । घिमिरे यसअघि प्रदेश १ सभापतिमा २ मतान्तरले पराजित भएका थिए । अर्कोतर्फ विराटनगर महानगरका पूर्वमेयर पराजुली सर्वसाधारणमाझ लोकप्रिय रहँदै आएका छन् ।
क्षेत्र नम्बर ५ ‘क’मा गयानन्द मण्डल र ‘ख’तर्फ केन्द्रीय सदस्य अमृत अर्यालले स्थान पक्का गरेका छन् । ‘ख’तर्फ राजेश गुप्ताको नाम छलफलमा रहेपनि अन्तिम समयमा अर्यालले प्रदेश सभामा इच्छा देखाएका थिए ।
२०७४ सालमा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका अर्याल यसअघि महानगरको मेयरका लागिसमेत चर्चामा थिए । पार्टी सभापति शेरबहादुर देउवा निकटस्त अर्याल अघि आएपछि आफू पछि हटेको गुप्ताले जानकारी दिए ।
त्यसैगरी, क्षेत्र नम्बर ६ को ‘ख’ मा केदार कार्कीले टिकट पक्का गरेका छन् । कार्कीले यसअघिपनि सो क्षेत्रबाट जित निकाल्दै प्रदेश सभासदस्य रहेका थिए ।
उनी हाल प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्री रहेकाछन् । सो क्षेत्रको ‘क’ तर्फ नेकपा माओवादीका जीवन आचार्यको स्थान पक्का भएको छ ।
यससँगै प्रतिनीधि सभातर्फ मोरङ क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर २ मा सुजाता कोइराला, क्षेत्र नम्बर ३ मा सुनिल शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाको उम्मेदवारी पक्का भएको छ ।