
काठमाडाैँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु भएकाे छ ।
प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्य सुरु भएकाे हाे ।
निर्वाचन आयाेगका अनुसार आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था छ ।
आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेसमेत असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपराह्त ३ बजेसम्म, मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपराह्न ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न २६ गते अपराह्न ४ देखि साँझ ७ बजेसम्म र मतदान आगामी मङ्सिर ४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।
यस निर्वाचनका लागि मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता सङ्ख्या रहेका छन् । यसमा पुरुष मतदाताको सङ्ख्या ९१ लाख ४० हजार आठ सय ६, महिला मतदाताको सङ्ख्या ८८ लाख ४७ हजार पाँच सय ७९ र अन्य एक सय ८५ रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका लागि आयोगले यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी एक सय ६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।