
दाङ – नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
उनले दाङ क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेबाट प्रदेशसभातर्फ प्रदेश २ (क) मा बलिभद्र राणा र (ख) मा गिरीराज केसीको मनोयन दर्ता भएको छ।
गठबन्धनबाट भने प्रतिनिधिसभामा माओवादीकी रेखा शर्मा तथा प्रदेशसभातर्फ (क) मा नेपाली कांग्रेसका राजु खनाल र कांग्रेसबाटै (ख) मा प्रचण्ड न्यौपानेको मनोनयन दर्ता भएको छ।
उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै महासचिव पोख्रेलले नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताए। आफूले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन चाहेको पनि उनले बताए।
उनले भने, ‘दलहरुबीचको ध्रुवीकरण अबको नेपालको राजनीतिको एजेन्डा हो। बलियो राजनीतिक शक्ति निर्माण गर्ने अभियानअन्तर्गत मेरो उम्मेदवारी हो।’
साथै उनले अब नेपालमा धेरै राजनीतिक दलहरुको आवश्यकता नभएको पनि दोहोर्याए। उनले भने, ‘अब नेपालमा धेरै राजनीतिक दलहरुको आवश्यकता छैन।’
उनले थपे, ‘हामी नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ। नेपालको राष्ट्रियता, विकास र समृद्धि, जनताको आकांक्षा र नेपाललाई एउटा विकसित समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा एउटा लोक कल्याणकारी राज्यका रुपमा नेपालको विकास गर्ने प्रयासको रुपमा मैले उम्मेदवारी दिएको हुँ।’