
नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका नेता आदेश अग्रवाल पार्टीबाटै टिकट पाउने आशामा थिए। वर्षमान पुनसँग निकट सम्बन्ध रहेकाले टिकट पाउने आशा थियो अग्रवाललाई।
ठूला नेताहरुले दिएको आश्वासनलाई आधार मान्दै अग्रवालले चुनाव लड्ने मनस्थिति बनाइसकेका थिए। नेपालगञ्जका प्रतिष्ठित व्यापारी अग्रवालले अन्तिममा टिकट पाएनन्।
उम्मेदवारी दर्ताको दिन अग्रवाल एकाएक जनता समाजवादी पार्टी (जसपा)का नेता एवं मन्त्री मो. इस्तियाक राईसँग देखिए। नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ को प्रदेश ‘ख’मा टिकट पाएपछि अग्रवाल जसपामा समेटिए।

जसपा उम्मेदवार।
माओवादी नेता अमर खड्का पनि अन्तिममा जसपाबाट उम्मेदवार बनेका छन्। पार्टीले टिकट दिने विश्वासमा रहेका खड्का टिकट नपाएपछि जसपा गएका छन्। खड्का जसपाबाट राप्तीसोनारी र नरैनापुर क्षेत्र समेटिएको क्षेत्र नं. १ को प्रदेश ‘क’बाट प्रदेश सदस्यमा उम्मेदवार बनेका छन्।
उम्मेदवारी दर्ताको दिन माओवादीका अग्रवाल, खड्कासहित अतहर फारुकी, पूर्ववडाध्यक्ष जुम्मन खाँ जसपा प्रवेश गरेका छन्।
क्षेत्र नं. ३ मा कांग्रेसका नेता चन्तराम थारु टिकट नपाएपछि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका छन्।
बाँकेमा रातारात पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने मात्रै होइन, गठबन्धन पनि भत्किएको छ। सत्ता गठबन्धनबाट अलगिएको जसपाको अन्यत्र एमालेसँग तालमेल भए पनि बाँकेमा भएको छैन। बाँकेमा एमालेले राप्रपासँग तालमेल गरेको छ।

कांग्रेस उम्मेदवार
क्षेत्र नं. २ को प्रतिनिधि सभा र क्षेत्र नं. १ दिएर एमालेले दुई वटा प्रतिनिधि सभा र पाँच वटा प्रदेश लिएको छ। क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा उम्मेदवार बनेका छन्। प्रदेशमा एमालेका विजय यादव र निरक गुरुङले उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. २ मा सत्ता गठबन्धनमा पनि दरार आएको छ। कांग्रेसले सुदिप नरसिंह राणालाई प्रतिनिधि सभा र प्रदेशमा सुरेन्द्र हमाल र राजकुमार बर्मालाई अघि सारेको छ। भाग नपाएपछि माओवादीले प्रदेशमा अकलबहादुर बमलाई उम्मेदवार बनाएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशमा समसुद्दिन सिद्धिकी र विनयचन्द्र गुप्तालाई उम्मेदवार बनाएको छ। क्षेत्र नं. २ मा जसपाबाट मो. इस्तियाक राई प्रतिनिधि सभा उम्मेदवार बनेका छन्। यहाँ जसपा एक्लै चुनावमा होमिएको छ। क्षेत्र नं. २ मा शिवसेनाका दिवाकर खनालले पनि उम्मेदवारी दिएका छन्। राप्रपा नेपालका रमेश अर्याल पनि उम्मेदवार बनेका छन्।

शिवसेनाका दिवाकर खनाल उम्मेदवारी दर्ता गर्दै।
क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट माओवादीका महेश्वर गहतराजले प्रतिनिधि सभा र एउटा प्रदेशमा माओवादीका कृष्णा केसी र एउटामा कांग्रेसका फुलाराम थारु उम्मेदवार बनेका छन्। यहाँ एमाले–राप्रपाबाट एमालेका सूर्य ढकाल प्रतिनिधि सभामा र प्रदेशमा एउटामा एमालेका दुर्गा थारु र अर्कोमा राप्रपाका नरेन्द्र पौडेल उम्मेदवार बनेका छन्।
क्षेत्र नं. ३ मा एमाले–राप्रपाबाट एमालेका किस्मत कक्षपति प्रतिनिधि सभा र प्रदेशमा एमालेका भीम वली र रत्न खत्री उम्मेदवार बनेका छन्।
कांंग्रेस र माओवादी गठबन्धनबाट कांग्रेसका किशोर राठौर प्रतिनिधि सभा र प्रदेशको एउटामा कांग्रेसका बाद शाह कुर्मी र अर्कोमा माओवादीका आइपी खरेल उम्मेदवार बनेका छन्। यहाँ पनि सरकारी गठबन्धनमा मिल्ती देखिएको छैन। एकीकृत समाजवादीका दलबहादुर सुनार र दीपक जीएमले उम्मेदवारी दर्ता गराएको जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिए।