
नेपालगञ्ज – प्रतिनिधिसभातर्फ तीन वटा र प्रदेशसभातर्फ ६ वटा निर्वाचन क्षेत्र रहेकाे बाँकेमा नाै वटा सिटका लागि ९८ जनाले उम्मेदवारी दिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ तीन जना प्रतिनिधिसभा र ६ जना प्रदेशसभा सदस्य चुनिन्छन्। तिनै नौ जनाभित्र पर्न ९८ जना मैदानमा उत्रिएका हुन्।
सबैभन्दा धेरै आकांक्षी क्षेत्र- २ मा देखिएको छ । यहाँ प्रतिनिधिसभाका लागि १५ जना र प्रदेशसभाका लागि २४ जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी १५ जना विभिन्न पार्टीबाट छन्।
नेपालगञ्ज बजार समेटिएको यो क्षेत्रमा जनता समाजवादी पार्टीका मो. इस्तियाक राई, एमालेको समर्थन रहेको राप्रपाका डा. धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणाका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। शिव सेनाका दिवाकर खनाल पनि प्रतिस्पर्धामा रहेका छन्।

बाँके क्षेत्र नम्बर- २ का उम्मेदवार मो. इस्तियाक राई
क्षेत्र- २ मा सधैं चुनाव लड्ने लीलौं दर्जीदेखि मो.इस्तियाकसँग रिसाएका समसुल हक राईको उम्मेदवारी रहेको छ। चुनावी प्रक्रियामा आएको सिके राउतको जनमत पार्टीका झगडा पनि देखिएको छ। पार्टीबाट बाबु खाँ उम्मेदवार बनेपछि इरफान अहमद शेषले स्वतन्त्रमा उम्मेदवारी हालेका छन्।
प्रदेशमा २४ जनाको उम्मेदवारी परेको छ। प्रदेश (क) मा ११ जना र (ख) मा १३ जनाले उम्मेदवारी हालेका हुन्।
क्षेत्र- १ मा २८ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभामा ११ जना र प्रदेशसभामा १७ जनाले उम्मेदवारी हालेका छन्। यहाँको एउटा प्रदेशमा दाजुभाइको उम्मेदवारी परेको छ, त्यो पनि सहमतिमा।

बाँके क्षेत्र नम्बर- २ का उम्मेदवार डा. धवलशमशेर राणा।
प्रदेश (क) मा नरैनापुरका विक्रम यादव र उग्रसेन यादवले उम्मेदवारी हालेका हुन्। एमालेबाट लामो समयसम्म राजनीति गरेर राज्यमन्त्रीसम्म भएका स्व. दिनेशचन्द्र यादवका यी दुई छोराले प्रदेशको एउटै क्षेत्रमा उम्मेदवारी हालेका छन्।
एमालेबाट टिकट पाउने आशा गरेका विक्रमले गठबन्धन गर्दा राप्रपाको भागमा त्यो क्षेत्र परेपछि भाइलाई समेत हाल्न लगाएर उम्मेदवारी हालेका छन्। उनीनिकट स्रोतका अनुसार, विक्रमको उम्मेदवारीमा कसैले दावी विरोध हालेमा उग्रसेनलाई अगाडि सार्न दुवैको उम्मेदवारी परेको छ।
क्षेत्र- ३ मा ३१ जनाको उम्मेदवारी परेको छ। संघमा दश जना र प्रदेशमा २१ जना छन्। प्रदेशको (क) मा ९ जना र (ख) मा १२ जना रहेका छन्।
स्थानीय तहको निर्वाचनमा होमिएर समयमै खर्च विवरण नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले मोटो रकम जरिवाना गरिरहेको बेला संघ र प्रदेशमा लहडका भरमा उम्मेदवारी पर्दैन भन्ने आंकलन गरेपनि त्यस्तो देखिएको छैन।
रिसराग, जोश अनि अर्कोलाई ठीक पार्न उम्मेदवारी दिनेहरू बढी नै देखिन्छन्। जित्ने आधारबिना नै चर्चाका लागि उम्मेदवारी दिनेहरू पनि देखिएका छन्। क्षणिक चर्चाका लागि नै सही, उम्मेदवारी दिएकाले निर्वाचनको अधिकृतको कार्यालयमा भने उम्मेदवारी दस्तुर बुझाएका छन्।
स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा दुई मत पाएका व्यक्तिको नाममा पनि अढाइ लाख रुपैयाँ जरिवाना देखिएको छ। अहिले उम्मेदवार बनेका धेरै महत्त्वाकांक्षीको हालत त्यस्तै हुने देखिन्छ।