
काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले प्रभु साहले एमालेबाट ‘विद्रोह’ गरी स्वतन्त्र उम्मेदवारी दिएको विषयमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टीमा ‘संदिग्ध र रंगीबिरंगी सर्प किन हुर्काइँदै छ?’ भनेर अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन्।
ओलीले साहलाई रौटहट–३ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दिए पनि उनले अन्तिम समयमा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। साहको उक्त कदमबारे टिप्पणी गर्दै ओलीले उनलाई ‘संदिग्ध र हरियो सर्प’को संज्ञा दिएका थिए।
ओलीको उक्त टिप्पणीपछि रावलले सोही विषयमा ओलीलाई प्रश्न गरेका हुन्।
रावलले लेखेका छन्, ‘प्रभु साहाको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। ‘हरियो सर्प’ भनेको पनि आयो। ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगीबिरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?’
अछाम–१ बाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका रावललाई ओलीले टिकट दिएका थिएनन्। उक्त क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई उम्मेदवार बनाइएको छ।