
काठमाडौँ – निर्वाचनको समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत दुई प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ। विगतमा पनि नेपालमा निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ।
निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन जित्नको लागि आत्याधिक खर्चिने गर्दछन्। निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ।
निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि सोहीअनुसार चलायमान बन्ने आँकलन गरिन्छ। तर, आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनअघि मुलुकको अर्थतन्त्र सुस्त गतिमा अगाडि बढिरहेको र बजारले एक वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार नहुने विज्ञहरु बताउँछन्।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवि नेपालले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने बताएका छन्।
पूर्वगभर्नर नेपालले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले भने अर्थतन्त्र चलायमान बनाउने गरेको बताए। पूर्वगभर्नर नेपालले नेपालमा आगामी मंसिर ४ गते हुने निर्वाचनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको दाबी गरे।
उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मंगलबार एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिए पनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताए। उनले बजारमा अत्याधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु रोकिने, पूरा हुने आयोजनाहरु पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको बताए।
उनले आगामी निर्वाचनले बजारको तरलता अभावसमेत तत्कालै समाधान गर्न नसक्ने उल्लेख गरे। उनले यस पटकको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो आर्थिक गतिविधि बढ्नसक्ने अवस्था नरहेको जिकिर गरे।
उनले भने,‘अन्तराष्ट्रिय रुपमा हेर्दा निर्वाचन अर्थतन्त्रले मुलुकको अर्थतन्त्रमा केही फरक पार्ने गरेको छ। २० वर्षको मेलेसियाले गरेको अनुसन्धानअनुसार निर्वाचनको बेलामा आर्थिक क्रियाकलाप बढ्नाले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि पनि भएको देखिन्छ। नेपालको निर्वाचनको सन्दर्भमा निर्वाचनको बेलामा बैंकहरुमा भएको पैसा बाहिर आउने, सरकारले पनि निर्वाचनको लागि खर्च गर्ने र मानिसहरुले बैंकमा सञ्चित गरेको पैसा पनि खर्च गर्ने भएकाले केही आर्थिक गतिविधि चलायमान हुने मान्यता छ। विगतमा देखिएको पनि थियो।’
उनले थपे, ‘निर्वाचनको बेलामा बजारमा देखिएको तरलता अभाव सहजता हुन्छ कि भन्ने हो। तर अहिलेको निर्वाचनको समयमा बजारको तरलता सहज हुने अवस्था देखिएको छैन। अहिलेको निर्वाचनमा अर्थतन्त्रमा चलायमान बनाउनसक्ने अवस्था छैन। किनकि बजारमा तरलता अभाव छ। सरकारले गर्न लागेका विकास निर्माणको काम तथा नीतिगत निर्णयहरु पनि रोकिने गर्छन्। पूरा हुने आयोजनाहरु पनि हुँदैनन्। हाम्रोजस्तो देशमा चुनावले अर्थतन्त्रलाई प्रेसर दिने हुन्छ।
विगतको निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले अर्थतन्त्रमा सहज हुन्छ, उत्पादनमा वृद्धि र उपभोग पनि बढ्छ भन्ने हो। अहिले बजारमा एक वर्षदेखि तरलताको अभाव भइरहेको छ। तत्काल तरलता सहज हुने अवस्था छैन। अहिले निजी क्षेत्रले गर्ने आयोजनाहरु पनि बन्द छन्। नयाँ सरकार आएपछि सरकारले बनाउने नीतिगत व्यवस्थाले निजी क्षेत्रको आयोजनाहरुलाई असर पर्ने हुन्छ। यो वर्षको निर्वाचनमा पाँच वर्षअघिको निर्वाचनमा जस्तो आर्थिक क्रियाकलापहरु बढे झैँ अहिले आर्थिक गतिविधि बढ्ने अवस्था छैन।’
पूर्वगभर्नर नेपालले बैंकहरुमा संकलन भएको निक्षेप संस्था, व्यक्तिहरुले दलगत उम्मेद्वारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निकाल्ने बताए। बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने पनि उनले उल्लेख गरे।