
काठमाडौँ – काठमाडौँ–२ प्रदेशसभा २ का एमाले उम्मेदवारी सुवर्ण श्रेष्ठविरुद्ध परेको उजुरी खारेज भएको छ।
श्रेष्ठले आफ्नो नाममा महालेखा परिक्षकले औंल्याएको बेरुजु मंगलबार नै हतार हतार बुझाएर भौचर निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि उजुरी खारेज भएको हो।
श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी नियन्त्रणका नाउमा ७०,६१८ रुपैयाँ भत्ता लिएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख भएको विवरणसहित उनको उम्मेदवारी नै खारेज गर्न माग गर्दै सोमबार उजुरी परेको थियो।
निर्वाचन अधिकृत बिमला रेग्मीले उजुरी उपर निर्णय गर्ने बेलासम्म बेरुजु तिरेको भौचर पेश गरेका कारण उजुरी खारेज गरेको जानकारी दिइन्। उजुरी खारेज गरेसँगै उनको उम्मेदवारी कायम भएको छ।
श्रेष्ठले शंखरापुर नगरपालिकको प्रमुख रहँदा गैरकानुनी रुपमा रकम लिएको र त्यसलाई महालेखाले बेरुजुका रुपमा औल्याउँदै फिर्ता गर्न निर्देशन दिएको थियो।
निर्वाचन आचार संहिता २०७९ उम्मेदवार हुनुअघि कुनै पनि व्यक्तिले बेरुजु भए फछ्र्यौट गर्नुपर्ने उल्लेख छ। तर आयोगले उम्मेदवारी र उजुरी दर्तापछि गरेको फछ्र्यौटलाई समेत मान्यता दिएर आफैँले बनाएको कानुनको उल्लंघन गरेको छ।