
धनगढी – गठबन्धनप्रति असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीको निर्णयविपरीत उम्मेदवारी दिने बझाङमा पाँच जना रहेका थिए। प्रतिनिधिसभातर्फ गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वसभापति हर्कजङ बहादुर सिंह र नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लोकेन्द्र सिंह धामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
सिंहले गठबन्धनले कांग्रेस बचाउने सर्तमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् भने धामीले एमालेका उम्मेदवार ऐन महरलाई समर्थन गर्दै मनोनयन फिर्ता गरेका छन्।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगतप्रशाद जोशीले पनि मनोनयन फिर्ता लिएका छन्।
उनले पार्टीले गरेको अनुरोध र पार्टीको निर्णयलाई सम्मान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए।
यस्तै, प्रदेश १ कै लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका जयभक्त जोशी र अर्का उम्मेदवार भीमबहादुर खड्काले पनि उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत हेमराज तिमिल्सिनाले जानकारी दिए।