काठमाडौँ – हालसम्म जीवन सम्भव भएको एकमात्र ग्रह पृथ्वी र त्यो पनि मानवीय कारणले संकटमा आएको तथा आफूहरूको भविष्य अनिश्चिततातर्फ उन्मुख भएको बालबालिकाले पनि बुझेका छन्।
संकटतर्फ उन्मुख प्राणी अस्तित्व र गर्न सकिने प्रयास तथा बालबालिकाका अपेक्षालाई एउटा चित्रकलामार्फत् प्रस्तुत गरियो- शनिबार ललितपुरमा।
३० फिट लामो क्यानभासमा बनाइएको चित्रमा जलवायु परिवर्तनका कारण आएको समस्या, समाधानका लागि भएका प्रयास तथा सुझाव र सुन्दर भविष्यको कल्पना समेटिएको छ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘सेभ द चिल्ड्रेन’ नेपालको सक्रियतामा ‘जेनेरेसन होप’ अभियानअन्तर्गत देशभरका सात हजारभन्दा बढी बालबालिकासँग जलवायु परिवर्तनबारे गरिएको उनीहरूको बुझाइ तथा अपेक्षासम्बन्धी अन्तरक्रियात्मक सर्वेक्षणबाट आएको तथ्य चित्रकलामार्फत् प्रस्तुत गरिएको हो।
‘क्लाइमेट क्यानभास’ नाम दिइएको चित्रकलामा जलवायु परिवर्तनका सम्बन्धमा विज्ञानले भनिरहेका वास्तविकता कलात्मक रूपमा सरल रूप देखाउने प्रयास गरिएको हो। बालबालिकाले भावनालाई चित्रकलाको रूपमा ढाल्नका लागि क्यानभास नेपालले साथ दिएको सेभ द चिल्ड्रेन नेपालकी कार्यवाहक कार्यक्रम, विकास तथा गुणस्तर निर्देशक लिनेया क्राफर्डले जानकारी दिइन्।

चित्रकलामा हरितगृह ग्यासका कारण निम्तिएको जलवायु संकटका उदहारणहरु प्रस्ततु गरिएका छन्। तस्बिर : सेभ द चिल्ड्रेन
‘जलवायु परिवर्तनबारेको बालबालिकाको बुझाइ तथा उनीहरूका त्रास र अपेक्षाहरू कलामार्फत् प्रस्तुत गरेर विश्वका नेताहरूसमक्ष लगिने छ’, क्राफर्डले भनिन्, ‘जलवायु परिवर्तन वास्तविक हो, विश्व एउटा मात्रै छ र बालबालिकाको आवाज सुनिनु पर्छ किनकि अब उनीहरूको हो यो विश्व।’
बालबालिकाबाट व्यक्त भएका भावनाहरूलाई क्यानभासमा उतार्न क्यानभास नेपालका कलाकारले सहयोग गरेका थिए। त्यसमा काठमाडौँका विभिन्न २० विद्यालयका बालबालिकाले रंग भरे।
३० फिट लामो चित्रमा हरितगृह ग्यासको उत्सर्जनका विभिन्न गतिविधि, खनिज इन्धनको अत्यधिक प्रयोग, प्रकृतिको दोहनका कारण भएका विनाश, त्यसले नेपालजस्ता अतिकम विकसित देशले भोग्नु परेका समस्याहरू, समाधानका लागि बालबालिकाले गरेका या चाहेका प्रयास तथा नविकरणीय स्वच्छ ऊर्जाको प्रयोगसँगै व्यवस्थित वातावरणको कल्पना समेटिएको छ।
सेभ द चिल्ड्रेनका एड्भोकेसी स्पेसलिस्ट लक्षिन्द्र महर्जनका अनुसार जलवायु संकट र त्यसको प्रभाव न्यूनीकरणका लागि बालबालिकाको आवाज उनीहरूकै सहभागितामा नीति-निर्माणमा निर्णायक भूमिका खेल्ने विश्वका नेताहरूसमक्ष पुर्याउनका लागि थालिएको ‘जेनेरेसन होप’ अभियानको अंश हो।

बालबालिकाले क्यानभासमा रंग भर्दै आफ्ना लागि हरित तथा सुन्दर भाविष्यको माग गरे। तस्बिर : सेभ द चिल्ड्रेन
‘जलवायु परिवर्तनको प्रभाव देशका सीमामा सीमित नहुने र त्यसको प्रभाव भूमिका कम भएका अतिकम विकसित देशहरूमा बढी पर्ने प्रमाणहरू विज्ञानले नै देखाएको छ’, उनले भने, ‘संकट समाधानका लागि धनी देशका नेताहरूको दायित्व बढाउनु पर्ने हुन्छ, त्यसलाई रोक्ने प्रयासमा बालबालिकाको आवाज सुनिनुपर्छ, त्यसअनुसार काम गरिनुपर्छ। त्यही आवाज सुनाउने प्रयास कलामार्फत् गरिएको हो।’
सेभ द चिल्ड्रेनकी कन्ट्री डाइरेक्टर हेदर क्याम्पबेलले जलवायु संकट समाधानका लागि हुने सबै प्रयास बालबालिकाको आवाजमा आधारित हुनु पर्ने बताइन्। ‘बालबालिकाहरूले उनीहरूको आवाज सुनिनु पर्ने बताएका छन्। जलवायु संकट समाधानका लागि बालबालिका आफ्नो भूमिका निर्वाह गर्न तयार छन्। हामीले उनीहरूको ज्ञान बढाउन र आवाज बुलन्द गर्नका लागि सहयोगसँगै अवसर प्रदान गर्नु पर्छ’, उनले भनिन्।
शनिबार ललितपुरको पाटनमा भएको क्यानभासमा रंग भर्ने कार्यक्रममा सहभागी भएकी ओजस्वी शाक्यले क्यानभासको हिमाली क्षेत्रमा रंग भरिन्। युनाइटेड स्कूलमा ६ कक्षामा अध्ययन गर्ने १३ वर्षकी शाक्यले भनिन्, ‘हामीले वातावरणलाई प्रदूषित गरेर धेरै दुःख दिएका छौँ। हामीले सास फेर्ने हावा पनि प्रदूषित बनाएका छौँ। यसलाई सफा बनाउनु पर्छ।’

बालबालिकाले आफ्नो तर्फबाट जलवायु संकट समाधानका लागि आफ्नो तर्फबाट भएका प्रयास पनि चित्रमा समेटिएको छ। तस्बिर : टंक ढकाल/देश सञ्चार
आफूले मौसमबारे केही थाहा पाएको, स्कूलमा पनि पढेको तर जलवायु परिवर्तनबारे खास जानकारी नरहेको उनले बताइन्। सँगै आएका ओजस्वीका बुवा ४५ वर्षीय राजीव शाक्यले जलवायु परिवर्तनसम्बन्धी चर्चा नहुनुमा आफ्नो पनि केही भूमिका रहेको स्वीकार गरे । उनले आउँदा दिनमा घर तथा स्कूलमा जलवायु परिवर्तन सम्बन्धी शिक्षा वा जानकारीका लागि छलफलका लागि पहल गर्ने बताए।
‘हामीले के गर्न सक्छौँ? बालबालिकाहरुले के गर्न सक्छन् भन्नेबारे छलफल गर्न प्रतिबद्ध छु, किनकि अबको विश्व सुरक्षित नबनाए हाम्रा सन्तानको भविष्य असुरक्षित हुन्छ।’
क्यानभासमा बालबालिकाले हरित तथा निष्पक्ष भविष्यको माग गरेका छन्, त्यसलाई कलामार्फत् देखाइएको छ। सो क्यानभास आउँदो अक्टोबर ३० मा हुने विश्वका धनी देशका नेताहरूको सम्मेलन जी-२० मा देखाउनका लागि इन्डोनेसिया पठाइने छ।

संकट समाधानका लागि तत्काल आवश्यक प्रयास भएमा आफूहरुका लागि राम्रो भविष्य बन्ने अपेक्षा चित्रमा बालबालिकाले देखाएका छन्। तस्बिर : टंक ढकाल/देश सञ्चार

भर्खरै
लोकप्रिय






































































































































































































