
काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरसरकारी संस्थाहरुलाई निर्वाचनसम्बन्धी कार्यक्रम दिन बजेट नै नभएको बताएका छन्।
निर्वाचनमा मतदाता शिक्षाका लागि दर्जनौं गैरसरकारी संस्थाहरुले माग गरिहेका बेला प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो प्रष्टीकरण दिएका हुन्।
उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई सचेत बनाउने र सूचित बनाउने काममा भने सहयोग गर्न सबै गैरसरकारी संस्थाहरुलाई आग्रह गरे। तर निर्वाचन कार्यक्रममा लागि भने बजेट नभएकाले ती संस्थाहरुलाई सहभागी गराउन सकिने अवस्था नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियो।
उनले आफैंले चिनेका पचासौँ गैरसरकारी संस्थाहरुले निर्वाचन कार्यक्रम मागिरहेको दृष्टान्त पेश गर्दै उनीहरुलाई पनि दिन नसकिने कुरा आफूले भनेर फिर्ता पठाएको स्पष्ट पारे।
सूचनाको हकको लागि राष्ट्रिय महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, दलित गैरसरकारी संस्था महासंघ, नेपाली उपभोक्ता संरक्षण महासंघका पदाधिकारीहरुसँग आइतबार आयोगको कार्यालयमा भएको सामुहिक भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले बिनाशीर्षक कुनै पनि बजेट खर्च गर्न नपाउने कानुनी व्यवस्था नै रहेको स्पष्ट पारे।
उनले भने, ‘म आफैले चिनको ५० औँ गैरसरकारी संस्थाहरु छन् निर्वाचनसम्बन्धी कार्यक्रम माग्ने। निकटका मित्रहरुले नै मागिरहेका छन्। म आफै आवद्ध रहेको भूतपूर्व कर्मचारी संगठनले नै मागेका छन्। तर मैले निर्वाचन प्रचारको काम गर्नुस्, फटाफट गर्दा हुन्छ। तपाईं हिँड्दा लौ भोट हाल्नुस् भन्दा के को पैसा लाग्छ? यति त सहयोग गर्नुस् भनेको छु। यो शीर्षकका लागि आयोगसँग शून्य दशमलव शून्य, शुन्य पैसा छ। अन्य विषयमा भने साझेदारी गरेर जान सकिन्छ गैरसरकारी संस्थाहरुसँग।’