
ललितपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन्।
ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन्।
‘अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु। सबै दलहरुलाई मेरोतर्फबाट समान व्यवहार हुनेछ,’ उनले भने, ‘एमालेजस्तो अरु पार्टीलाई विभेद गर्ने कांग्रेसको संस्कार पनि छैन।’
उनले आफू काममा बढी विश्वास गर्ने व्यक्ति भएको बताए। ‘यो निर्वाचन क्षेत्रमा कांग्रेसले जम्मा एकपटक प्रतिनिधिसभा निर्वाचन जितेको छ। बाँकी सबै चुनाव एमालेले जितेको छ,’ कांग्रेस नेता राणाले भने, ‘कसको पालामा कति काम भयो? यो यहाँका जनताले मूल्यांकन गर्नुपर्ने बेला आएको छ।’
उनले ललितपपुर–१ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेन्डा भएको प्रष्ट पारे।