
काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ।
राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचार–प्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो।
आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचार–प्रसार गर्न पाइने बताए।
आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए। घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे।
घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ छ। आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउने गरी घरदैलो गर्न उनले उम्मेदवारहरुलाई आग्रह गरे।
उनले भने, ‘दलको प्रतिनिधिहरुको सहमतिमा समेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिनअगावै अर्थात २०७९/०७/१८ बाट निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ। त्यो भन्दा अगाडि निर्वाचन प्रचार–प्रसार गर्ने लगायतका क्रियाहरु गर्न पाइँदैन भनेर आचारसंहिताले निषेध गरेको छ। राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरु घरदैलो गर्न पाए। घरदैलो कार्यक्रम गर्दाखेरी पनि उहाँहरु मत माग्न मतदाताको घरमा जाँदाखेरी २५ जनाभन्दा बढी जान पाउनुहुन्न। २५ जना पनि बाजागाजा, तामझाम गरेर जान पाइँदैन।’
उनले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे। उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचार–प्रसार गर्न उनको सुझाव छ।
उनले भने, ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरु प्रचार–प्रसारमा जानुभएको छ। आफू राम्रो, अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन। आफू राम्रो मात्रै भनेर जानुस् न। म यो नीति तथा कार्यक्रम गरेर जान्छु। म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो त्यो सबै स्पष्ट देखिने गरी जानुस्। मेरो घोषणापत्र ठीक, अर्काको बेठीक भन्न पाइँदैन।’