
जनकपुरधाम – महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा यस पटकको निर्वाचन रोचक रहने देखिन्छ। मधेसकेन्द्रित दलमध्ये लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का केन्द्रीय अध्यक्ष यहाँबाट चुनाव लडेका हुन्।
२०७४ को निर्वाचनमा सहजै जित निकाल्न सकेका लोसपा अध्यक्ष महन्थ ठाकुरलाई यस पटक जित्न मुस्किल भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महन्थका लागि यस पटक परिस्थिति परिवर्तन भएको छ।
गत निर्वाचनमा मधेसवादी दलको गठबन्धन थियो भने नेपाली कांग्रेसले समेत महन्थलाई सघाएको थियो, तर यस पटक भने दुई प्रमुख मधेसकेन्द्रित दल छुट्टा-छुट्टै गठबन्धन गरेर आफ्नो उम्मेदवार खडा गरेका छन्। लोसपाबाटै फुटेको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल यस क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।
२०७४ को निर्वाचनमा २६ हजार ८४५ मत ल्याएर महन्थ निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मतमात्र प्राप्त गरेका थिए। तर यस पाँच वर्षको अवधिमा महन्थले आफ्नो क्षेत्रमा जनताको अपेक्षा अनुसारको काम गर्न सकेका छैनन्।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपाले राम्रो प्रदर्शन गर्न सकेको छैन । महोत्तरी ३ मा विभिन्न पाँचवटा स्थानीय तह अन्तर्गतका ३५ वटा वडा रहेका छन् जसमध्ये लोसपाले ७ वटा वडामा मात्र जित्न सकेको थियो।
महोत्तरी-३ मा एकडारा गाउँपालिकाका ५ वटा वडा, मटिहानीका सबै ९ वटा वडा, जलेश्वरको सबै १२ वटा वडा, पिपरा गाउँपालिकाका ६ वडा र मनरा सिस्वा नगरपालिकाका ३ वडा गरी ३५ वडा रहेका छन्।
यस्तै, सत्ता गठबन्धनमा रहेकाे नेपाली कांग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले एउटा वडा गरी अहिलेको पाँचदलीय गठबन्धनले १३ वडामा मात्र जित्न सकेको छ। बाँकी रहेको २२ वडा वडामा नेकपा एमाले र जसपाका उम्मेदवारले जितेका थिए। जसपाले १३ र एमालेले ९ वटा वडामा जित्न सफल भएको थियो। स्थानीय तहको निर्वाचनमा भने जनता समाजवादी पार्टी(जसपा) सत्ता गठबन्धनमै रहेको थियो भने लोसपा एक्लै चुनावमा गएको थियो।
महोत्तरी ३ मा यस पटक विभिन्न राजनीतिक दलका १० र स्वतन्त्रतर्फ ११ गरी कुल २१ जना उम्मेदवार छन्। जसमध्ये महन्थका लागि जसपा-एमाले गठबन्धनको तर्फबाट जसपाका हरिनारायण यादव, एमालेबाट बागी भएर उम्मेदवारी दिएका रामआधार कापर, तमलाेपाका वृशेषचन्द्र लालले चुनौती दिएका छन्।
स्थानीय तहको मत परिणामको आधारमा अगाडि रहेका जसपाका हरिनारायण यादव महन्थका लागि मुख्य प्रतिस्पर्धीको रूपमा रहेका छन्। उनी पूर्वमन्त्रीसमेत हुन्। यस्तै, तमलोपाबाट उम्मेदवार बनेका लाल लोसपाकै पूर्वनेता हुन्। उनी यसअघि लोसपाबाट राष्ट्रियसभा सदस्य बनिसकेका छन्।
एमालेबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका कापरको पक्षमासमेत जनाधार रहेको छ। उनले पार्टीमा गरेको लगानीका कारणसमेत एमालेको मत उनमा आउने धेरैको भनाइ छ।
लोसपाबाट उम्मेदवारी दिएका महन्थ ठाकुरले आफूहरूको अहिले धेरै मुद्दा बाँकी रहेको भन्दै उनले नागरिकता, संविधान संशाेधन, आन्दोलनको क्रममा मुद्दा लागेकाहरूमाथिको मुद्दा हटाउने लगायतका मुद्दा बाँकी नै रहेकोले आफूले यहाँबाट उम्मेदवारी दिएको बताए। उनले लडाइँ जित्नकै लागि लडिने गरेको र आफूले दोस्रो पटक पनि उम्मेदवारी दिँदा पनि जितका लागि विश्वस्त रहेको बताए।
यस्तै, एमाले-जसपाबाट उम्मेदवार बनेका पूर्वमन्त्री हरिनारायण यादवले आफू जलेश्वरको विकास र यहाँको जनताको सुख/दुःखमा सहभागी हुन उम्मेदवारी दिएको बताए। उनले आफू जितका लागि विश्वस्त रहेकोसमेत बताए।