
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्।
सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
उनले भने, ‘ओलीजीले दुई पटक भंग गरिदिनु भयो पार्लियामेन्ट। जनताले चुनेको संसद मनपरी ढंगले भंग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भंग गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौँ। राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए हेर्नुस् न संसद। बिहानै गरे हुन्थ्यो। बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो।’
ओलीले दुई वर्षअघि नै संसद भंग गरे पनि गठबन्धनले संसद जोगाएर अहिले ठीक समयमा चुनावमा जान लागेको देउवाले बताए। अहिलेको संविधान राम्रो बनेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने बताए।
उनले गठबन्धनका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे। उनले भने, ‘हसिँया हथौडा, रुख भन्ने नै छैन अब। त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने। हसिँया हथौडा भएको ठाउँमा हँसिया हथौडालाई नै भोट हाल्ने। रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने। पुगिहाल्यो नि यति भए !’