
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा, स्थितरता र समृद्धिका लागि गठबन्धन दलहरुको पक्षमा मतदान गर्न अपील गरेका छन्।
उनीहरुले मंगलबार संयुक्त अपील जारी गर्दै गठबन्धनको मुख्य उद्देश्य संविधानको रक्षा गर्नु रहेको बताएका छन्।
‘२०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटनलगायत तात्कालीन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ। पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावना अनुरुप काम गर्दै आएको छ,’ संयुक्त अपीलमा भनिएको छ।
उनीहरुले नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आफूहरुले प्रतिबद्ध रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन्।
साथै अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनलाई भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न कटिबद्ध रहेको उनीहरु भनाइ छ। संविधानमाथि प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै उनीहरुले बताएका छन् ।
संयुक्त अपीलमा अगाडि भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ।’
उनीहरुले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन्।