
सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मङ्सिर ४ को निर्वाचन ऐतिहासिक भएको बताएका छन्।
उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका हकअधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनालाई सम्पन्न गर्न तथा रोजगारी सिर्जना हुने ठूला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।
सुर्खेत क्षेत्र नं १ का मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले मङ्सिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निर्क्यौल हुने बताए।
उनले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए।
उनले संविधानका बाँकी कामलाई पूर्णता दिनका लागि पनि लोकतान्त्रिक वाम गठबन्धनको जीत आवश्यक रहेको बताए।
‘संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुततर विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको हो,’ खड्काले भने।
उपसभापति खड्काले मङ्सिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताउँदै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न र मुलुकको आर्थिक रूपान्तरणसँग पनि जोडिएको छ।
छिन्चु–घारीवन–बाल्चे–सल्यान जोड्ने सडकलाई पाँच वर्षभित्र कालोपत्र गर्ने घोषणा गरे। रासस