वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ को क बाट उम्मेदवार रहेका उम्मेदवार अनिल कुशवाहाले आफ्नो क्षेत्रमा रहेका उद्योगमा स्थानीय जनशक्तिलाई नै रोजगारी दिलाउने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका उनले आफ्नो क्षेत्र वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरभित्रै पर्ने भएकाले यहाँ स्थानीयलाई नै ती उद्योगमा रोजगारी उपलब्ध गराउनका पहल गर्ने बताए।
वीरगञ्ज महानगरपालिका–३२ परसवा टोलमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले क्षेत्र नम्बर १ क मा थुप्रै उद्योग रहेको तर त्यहाँ स्थानीयलाई रोजगारी कम मात्रै दिइएकाले आफूले जितेपछि रोजगारीको समस्या समाधान गर्ने बताए।
स्थानीय युवा रोजगारी नपाएर विदेश जानुपर्ने तथा यहाँ रहेका उद्योगमा बाहिरबाट कामदार ल्याएर काम गराउनुपर्ने परिपाटी अन्त्यका लागि नै आफ्नो उम्मेदवारी भएको कुशवाहाको दाबी थियो।
आफ्नो क्षेत्रमा रहेका उद्योगमा चाहिने प्राविधिक जनशक्तिका लागि प्राविधिक कलेज स्थापना गर्ने पनि उनले प्रतिबद्धता जनाए।
स्थानीयस्तरमै उद्योगमा काम गर्ने जनशक्ति यही विभिन्न किसिमका तालिम दिएर उत्पादन गर्न सकिने भएकाले त्यस्तो कार्यका लागि आफू अहिलेदेखि नै लागिपरेको उनको भनाइ थियो।
उनले स्थानीय स्तरमा रहेका अनपढ महिलालाई समेत विभिन्न किसिमका तालिम दिएर आयआर्जनको व्यवस्था गर्न सकिने भन्दै महिला सशक्तिकरणका लागि पनि उनले कार्यक्रममा जोेड दिएका थिए।
कुशवाहाले एमबिए गरेका छन्। मार्केटिङसँगै राजनीति पनि गर्दै आएका कुशवाहा सिप्रदी ट्रेडिङ कम्पनीमा सेल्स म्यानेजरको जागिर छाडेर क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन्। यस क्षेत्रमा वीरगञ्ज महानगरपालिकाका मात्रै वडा पर्छन्। साथै, यो क्षेत्रमा वीरगञ्ज–पथलैया कोरिडोरमा पर्ने दर्जनभन्दा बढी उद्योग छन्।

भर्खरै
लोकप्रिय






































































































































































































