
अ
+
अ
अ
-
बुटवल- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ।
रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई सम्बोधन गर्न बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुख र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्लाधिकारी) सहित सुरक्षा प्रमुखहरु सहभागी थिए।