
काठमाडाैँ – ०७४ सालकाे प्रतिनिधिसभामा नेकपा एमालेकाे तर्फबाट पूर्व ऊर्जामन्त्री गोकर्ण विष्ट विजयी भएकाे गुल्मी क्षेत्र नम्बर- २ मा यसपालीकाे निर्वाचनमा भने राेचक प्रतिष्पर्धा हुने देखिन्छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र रहेकाे गुल्मीकाे क्षेत्र नम्बर-२ मा एमालेकाे तर्फबाट उनै गोकर्ण विष्ट उम्मेदवार छन् भने सत्ता गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री उम्मेदवार छिन्।
पूर्व सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्री उनै उम्मेदवार हुन् जसले यसअघिकाे निर्वाचनमा अहिलेका प्रतिष्पर्धी विष्टकाे लागि उनीसँगै भाेट माग्न हिँडेकी थिइन्। तर, अहिले भने परिस्थिति फेरिएकाे छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच एकता भएर नेकपा बन्याे। नेकपाकाे आयु खासै लामाे रहन सकेन। फलत:पार्टी फुटेर तीन भागमा बाँडियाे। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एमाले एमाले नै रह्याे।
साे समयमा माधवकुमार नेपालकाे नेतृत्वमा गठन भएकाे नेकपा एकीकृत समाजवादीमा झाँक्री लागिन् भने विष्ट एमालेमै रहे। सुरुमा माधव नेपालतर्फ माेडिएका विष्ट एमालेमै रहने निर्णय गरे। र सुरु भयाे झाँक्री र विष्टकाे दुई ध्रुव।
राजनीतिक हिसावमा विष्टलाई आफ्नाे गुरु (दाइ) मान्दै आएकाे बताउने झाँक्री नै यसपालीकाे निर्वाचनमा विष्टकाे प्रमुख प्रतिष्पर्धी सावित भइन्।
गठबन्धनकाे तर्फबाट झाँक्रीलाई कांग्रेस, माओवादी र आफ्नै पार्टीकाे साथ रहेकाे छ भने यता विष्टलाई एमालेकाे एक्लाे समर्थन छ।
०७४ काे निर्वाचनमा एमालेकाे तर्फबाट समानुपातिकबाट सांसद भएकी झाँक्रीकाे मत नेपाली कांग्रेसका बागी उम्मेदवार डा.दामोदर भुसालले पनि काट्ने देखिन्छ।
यता, विष्टकाे हालत पनि उस्तै छ। तत्कालीन बाम गठबन्धकाे तर्फबाट राम्राे मत पाएका उनी पार्टी फुटेका कारण यसपाली उनकाे मत एकीकृत समाजवादीमा पनि जाने देखिन्छ। ०७४ सालमा गाेकर्णले झन्डै १४ हजार मतान्तरले जितेका थिए।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा साे क्षेत्रमा एमालेले ३१ हजार २५३ मत पाएको थियो भने सत्ता गठबन्धनले ३२ हजार ४२१ मत पाएकाे थियाे।
राेचक प्रतिष्पर्धा देखिएकाे साे क्षेत्रमा दुवै उम्मेदवारका आ-आफ्नै अडान छन्। जिल्लाकाे विकासका लागि आफूले विगतमा गरेका काम नै आफ्नाे जितकाे प्रमुख आधार भएकाे र आगामी दिनमा पनि अझ धेरै काम गर्ने विष्टकाे भनाइ छ।
यता, झाक्रीले पनि आफूले गरेका सबै प्रतिवद्धता पूरा गर्ने र झुटा आश्वासन नदेखाउने भएकाले आफ्नाे जित सुनिश्चित भएकाे दाबी गर्छिन्।
निर्वाचन नजिकिएसँगै गुल्मी- २ चुनावी माहाेल चर्किएकाे छ। दुवै उम्मेदवारले प्रचार-प्रसारकाे कार्यलाई तीव्रता दिएका छन्। तत्कालीन सहकर्मी यी दुईमा कसले बाजी मार्ला त्याे त समयले नै बताउला।