संघ तथा प्रदेशका प्रतिनिधि छान्न मतदान गर्ने दिन आउन केही दिनमात्रै बाँकी रहँदा दलहरूले प्रचारका लागि सबै माध्यममा सक्दाे प्रयास गरिरहेका छन्। सामाजिक सञ्जाल टिकटकमार्फत् मतदाता लोभ्याउन दल तथा नेताहरू लागि परेका देखिन्छ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि आमसभा तथा प्रचार-प्रसारका कार्यक्रमहरू गर्न बाटो खुलाएसँगै दलहरू प्रचारमा झनै जोडतोडका साथ लागेका हुन्। उम्मेदवारले निजी सञ्चार माध्यममार्फत् प्रचार-प्रसार गर्न पाउने व्यवस्थासमेत छ। जसअनुसार उम्मेदवारहरूले विभिन्न निजी सञ्चार माध्यममार्फत् प्रचार गरिरहेका छन्।
प्रचार-प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहँदा दल तथा नेताहरूले प्रचारका लागि सामाजिक सञ्जाल र त्यसमा पनि टिकटक भिडियोलाई मुख्य रूपमा प्रयोग गरेका छन्। यससँगै फेसबुक, ट्वीटर पनि प्रयोग भएका छन्।
निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार-प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको हाे।

एमाले अध्यक्ष ओली र उनकाे बच्चाकाे रुपमा बनाइएकाे टिकटक भिडियाेबाट साभार तस्बिर ।
यतिबेला सामाजिक सञ्जालमा स्क्रोल गरेर हेर्ने हो भने कुनै न कुनै राजनीतिक दल तथा त्यसका उम्मेदवारले गरेको प्रचारात्मक भिडियो या अन्य सन्देश देखिन्छ।
टिकटकमा कतिपय राजनीतिक दलका उम्मेदवारको तस्बिर राखेर प्रचारात्मक भिडियो बनाउने त छँदैछ, विभिन्न उम्मेदवारका अनुहार प्रयोग गरी भिडियो बनाइको समेत पाइन्छ। यसमा मुख्यत: दुई पूर्वप्रधानमन्त्रीका अनुहार प्रयोग भएको देखिन्छ।

माओवादी अध्यक्ष प्रचण्डकाे अनुहार चित्र प्रयाेग गरी बनाइएकाे टिकटक भिडियाेबाट साभार तस्बिर ।

एमाले अध्यक्ष ओली रुपमा बनाइएकाे टिकटक भिडियाेबाट साभार तस्बिर ।
प्रमुख राजनीतिक दल नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार प्रयोग गरी बच्चादेखि बुढासम्मको आकृतिका भिडियो बनाइएको बनाइएका छन्। ती भिडियोमा उनै उम्मेदवारको भाषण तथा चुनावी गीत प्रयोग गरिएको हुन्छ। यो फिचर उम्मेदवार आफैँको आग्रहमा बनाइएको हो या उनका कार्यकर्ताले बनाएका हुन् यो उनैले जानून्। तर यतिबेला टिकटकमा यस्ता खालका भिडियो निकै प्रयोग भएको देखिन्छ।

एमाले अध्यक्ष ओलीकाे बच्चाकाे रुपमा बनाइएकाे टिकटक भिडियाेबाट साभार तस्बिर ।
यो त भयो उनीहरूको अनुहारको प्रयोगका कुरा। यसबाहेक अन्य उम्मेदवारहरूले टिकटक अकाउन्ट नै बनाएर प्रचार गरेकाे पाइन्छ। यसमा युवा उम्मेदवारको पकड अझै उल्लेख्य मात्रामा भएको देख्न सकिन्छ।
प्रनिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछाने, काठमाडौँ- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ, काठमाडौँ- १ बाट पुकार बम, ललितपुर- ३ बाट डा.तोसिमा कार्कीलगायत टिकटकमा एक्टिभ देखिन्छन्।
यस्तै, राप्रपाबाट काठमाडौँ- १ का उम्मेदवार रवीन्द्र मिश्र, काठमाडौँ- २ मा कुन्तीदेवी पोख्रेल र मोरङ- ३ बाट रेखा थापाले पनि टिकटकमार्फत् प्रचार गरेको पाइएको छ।
यसैगरी, नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौँ- ४ का उम्मेदवार गगन थापा पनि ‘गगन भिजन’ नामक टिकटक अकाउन्टमार्फत प्रचारमा सक्रिय देखिन्छन्।
टिकटकमार्फत प्रचार गर्नेमा स्वतन्त्र उम्मेदवारहरू पनि अगाडि छन् । कतिपय उम्मेदवारलाई ‘जिताउ अभियान’ नामक एकाउन्टसमेत बनाएको पाइन्छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी क्षेत्र डडेलधुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि टिकटक प्रचारमा सक्रिय छन् । उनले त्यहाँका विभिन्न ठाउँका मतदातासँग गरेका सम्वाद तथा आफ्ना भिजनका बारेमा तयार पारिएका भिडियोहरू टिकटकमार्फत सार्वजनिक गरेको पाइन्छ ।
यस्तै, काठमाडौँ- १ बाट नेपा सुशासन पार्टीबाट उम्मेदवार रमेश खरेल पनि घरदैलो अभियानका भिडियोहरू टिकटकमार्फत् सार्वजनिक गर्छन्। आमा चुनाव चिन्ह लिएर चुनावमा होमिएका पूर्व डिआइजी खरेलको प्रचारात्मक शैली र भिजन टिकटकमै भेट्न सकिन्छ।
स्वतन्त्र अभियानको लहर चलेसँगै आफू आवद्ध दल विवेकशील साझा पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएकी काठमाडौँ – ५ की उम्मेदवार रञ्जु दर्शना पनि टिकटकमार्फत् भिडियो सार्वजनिक गरेर भोट माग्न व्यस्त देखिन्छिन्।
टिकटकमा एमालेका उम्मेदवारहरूको सक्रियता पनि उस्तै रहेकाे पाइन्छ। एमालेका अध्यक्ष ओली यसको अग्र पंङ्तिमा छन्। उनीसँगै उनका विश्वासका पात्र मानिएका दुई नेता महेश बस्नेत र गोकुल बास्कोटा पनि सक्रिय छन्।
ओलीले हालै सार्वजनिक गरेको र्याप गीत ‘सहर-सहरमा ओली’ प्रयोग गरी विभिन्न राजनीतिक कार्यक्रम तथा चुनावी सभाका भिडियो बनाउन व्यस्त छन् यी दुई नेता पनि।
एमालेका अर्का उम्मेदवार शेरधर राईको पनि टिकटकी प्रचार अभियान तीव्र छ। भोजपुरबाट उम्मेदवार रहेका राईले मोडेलसमेत रहेकी श्रीमतीलाई त प्रचारमा लगाए नै, पूर्वमिस नेपालसमेत रहेकी टेलिभिजन कार्यक्रम प्रस्तोता माल्भिका सुब्बालाई समेत भोट माग्न लगाएका छन्। माल्भिकाले शेरधनको गुणगान गाउँदै भोट मागेको भिडिको शेरधनकै टिकटक अकाउन्टमा देख्न सकिन्छ।
यता, एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानका उम्मेदवार पनि टिकटकमार्फत् चुनावी प्रचारमा व्यस्त छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी राजमो (नेकपा मसाल) उपाध्यक्ष दुर्गा पौडेल र एमालेका पोलिटब्यूराे सदस्यसमेत रहेका एमाले प्युठान इन्चार्ज सूर्य थापा दुवै टिकटकमा सक्रिय छन्।
उम्मेदवार सूर्य थापालाई त प्रचारमा बच्चाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो।
यता, स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका असिम साह पनि टिकटकमा उस्तै एक्टिभ देखिन्छन्। उनको लागि नायिका स्वस्तिमा खड्का, वर्षा राउत, कलाकार तथा निर्देशक निश्चल बस्नेत र सञ्जोग कोइरालाले घण्टी बजाउँदै भोट मागेका छन्।
भिडियोमार्फत् प्रचार गर्न प्रमुख माध्यम टिकटक नै भए पनि यतिबेला उम्मेदवारहरूले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट भोट मागेकाे देखिन्छ। यसैगरी, एडसेन्समार्फत् समेत उम्मेदवारको लागि भोट आह्वानका सन्देशहरू आउने गरेको प्रयोगकर्ताहरू बताउँछन्।
तीव्र प्रचार र फरक प्रचारात्मक शैली अपनाएका यी उम्मेदवारले मतदातामा प्रभाव छोड्न सके/नसकेको त समयमै नै बताउला।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































