बारा – तीनदिनपछि हुने प्रतिधिधिसभा चुनावमा बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) ले जित्ने लगभग निश्चित देखिएको छ।
मौन अवधि सुरु हुने अघिल्लो दिन बुधबार बारा–४ का मतदाताले बनाएको मनस्थिति बुझ्दा लोसपा छाडेर अन्तिम समयमा एमालेबाट उम्मेदवारी दिएका एकवाल मियाँले चुनावी परिणाम आफ्नो पक्षमा पर्ने संभावना कम देखिएको हो। श्रेष्ठ सत्ता पक्षीय कांग्रेस, माओवादी, समाजवादी र लोसपाका साझा उम्मेदवार हुन् भने मियाँ एमाले जसपा गठबन्धनका उम्मेदवार हुन्।
स्थानीय तहको चुनावका आधारमा हेर्दा उसै पनि १८ हजारभन्दा बढी मतले अघि रहेका किसानको पक्षमा जनमत देखिएको छ। प्रदेशतर्फको १ मा लोसपाका जितेन्द्र सोनलको बलियो साथ र मियाँको गिर्दो राजनीतिक शाखको फाइदा श्रेष्ठले उठाउने भएका हुन्। तनहुँ–१ छाडेर बारामा उम्मेदवारी दिएका किसानप्रति कोर मधेसका मतदाता नै आकर्षित छन्।

त्यस्तै कांग्रेस माओवादीका बलियो साथ र जितपुर सिमरा उपमहानगर पालिकामा उनको पार्टी एकीकृत समाजवादीको उपस्थितिले जितको आधार तयार पारेको छ। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा कांग्रेसका वडाध्यक्षहरुले कांग्रेस १६ हजार ५८९, लोसपाकाले १५ हजार ८०, माओवादीबाट उठेकाले ९ हजार १३, समाजवादीकाले ५ हजार १९ मत पाएका थिए।
त्यस्तै एमालेका वडाध्यक्षहरुले २१ हजार १६७ र जसपाका वडा अध्यक्षले ५ हजार ६ सय ९१ मत पाएका छन्।
बारा-४ मा पहाडी समुदायको बसोबास रहेको जितपुर सिमरा उपमहानगर पालिकाको १ देखि १० र १९ देखि २४ सम्मका वडा पर्छन् भने कोर मधेसका चारवटा गाउँपालिकाहरु परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर पनि यसै निर्वाचन क्षेत्रमा पर्छन् । प्रसौनी १ स्थायी बासिन्दा रहेका डा. धुरेन्दर जयसवाल गठबन्धनका उम्मेदवार श्रेष्ठको पक्षमा मधेसी मतदाता खुलेको बताए। वर्षौँदेखि आफ्नै मेडिकल समेत चलाउँदै आएका उनले देश सञ्चारसँगको कुराकानीमा भने, ‘मधेसका नाउँमा मिलेर खाए भन्ने मनोविज्ञान विकास भएको छ। यसपटक मतदाताको रुची नयाँ उम्मेदवारप्रति नै देखिएको छ।’

बारा क्षेत्र नम्बर ४ का मतदाता । तस्बिर : प्रकाश ढकाल/देश सञ्चार
अघिल्लोपटक लोसपाबाट चुनाव जितेका मियाँले क्षेत्रको विकासमा ध्यान नदिएको, काठमाडौँ मात्रै बसेको गुनासो प्रसौनी ४ का सागर मन्सुरीले गरे। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा प्रसौनी गाउँपालिकाको अध्यक्ष एमालेले जिते पनि अधिकांश वडामा गठबन्धन पक्षधर दलले जितेका छन्।
प्रसौनी २ का मतदाता रहेको एमाले बारा जिल्ला कमिटिका एक सदस्यले आफ्नै पार्टीका उम्मेदवारप्रति असन्तोष व्यक्त गरे। उनले अर्को दलबाट आएका व्यक्तिलाई एकैपटक टिकट दिँदा पार्टीभित्र असन्तुष्टि चुलिएको बताए। ‘म ४० वर्षदेखि एमालेमा लाग्दै आएको छु। तर पार्टीले यसपटक ठीक गरेन, साथीहरु सन्तुष्ट छैनन्।’
बारा क्षेत्र नम्बर ४ मा एमालेबाट स्वभाविक आकांक्षी देवनारायण चौधरी भए पनि उनलाई पन्छाएर अध्यक्ष ओलीले अन्तिम समयमा लोसपाबाट आएका मियाँलाई टिकट दिए। अघिल्लोपटक प्रदेशसभामा थोरै मात्रै मतले पराजित भएका उनी अहिले ४ (क) मै प्रदेशसभाका लागि उम्मेदवार बनेका छन्।

बारा क्षेत्र नम्बर ४ का मतदाताले चुनावपछि क्षेत्र नफर्किने भन्दा दुःखमा सहयोग गर्नेलाई मत दिने बताएका छन्। तस्बिर : प्रकाश ढकाल/देश सञ्चार
उम्मेदवार मियाँको गृह वडा परवानिपुर १ मै उनको जनमत कमजोर रहेको स्थानीय नागेन्द्र मण्डलले बताए। बाख्रा चराइ रहेका उनले मण्डल समुदायले मियाँलाई भोट नदिने बताए। मियाँप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘तपाईँले देख्नु हुन्छ नि कति काम गरेको छ? पाँच वर्षमा एउटा चापकल (धारा) माग्दा पाएनौँ।’ उनले आफ्नो समुदायले सामूहिक रुपमा भोट हाल्दै आएको र यसपटक पनि त्यस्तै हुने बताए।
परवानिपुर–२ का हरिनन्दन ठाकुरले यसपटकको चुनावमा मधेसी पहाडीको भवना नरहेको सुनाए। आफ्नै घर अगाडि चौरमा बसिरहेका उनले भने, ‘मधेसका नाउमा धेरै ठगी भयो। अघिल्लोपटक जो मधेसी भनेर उठ्यो उसैलाई भोट दिएका हौँ। अहिले त्यस्तो छैन।’
फेटा गाउँपालिका–१ का कासी ठाकुरले आफ्नो वडामा मियाँ, श्रेष्ठ र स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेलाई भोट बाँडिने बताए। गाउँको चोकमा सामान्य पसल चलाउँदै आएका उनी आफ्नो वडाबाट वाग्लेले भोट धेरै लान सक्ने बताए। टोर्नाडोबाट प्रभावित भएको यो वडामा वाग्लेले दुःखका बेला सहयोग गरेको अर्का स्थानीय रामजी दासले बताए। दासले भने, ‘हामी दलका उम्मेदवारलाई भोट दिँदैनौँ। हामीलाई दुःख परेका बेला जसले गुन लगाएको छ, अहिले हामीले सकेको बेला उसैलाई गनु तिर्ने हो।’

पाँचवटा वडा रहेको विश्रामपुर गाउँपालिकाको पहिलो र दोस्रो शक्तिका रुपमा लोसपा एकीकृत समाजवादी रहेको स्थानीय तहको चुुनावी परिणामले देखाउँछ। ४ (ख) बाट उम्मेदवारी दिएका सोनलको प्रभाव क्षेत्रका रुपमा रहेको विश्रामपुरको अध्यक्ष लोसपाका जुल्फकार अलि भुटोले जितेका थिए। उनले ४३१७ मत ल्याएर जित्दा समाजवादीका मदनप्रसाद यादव २३२६ मतका साथ दोस्रो भएका थिए। वडा अध्यक्षले पाएको मतका आधारमा हेर्दा ५ नम्बर वडा बाहेक अन्त एमालेको उपस्थिति नगन्य मात्रै छ। जसको फाइदा श्रेष्ठलाई हुनेछ।
स्थानीय तहमा वडाहरुले पाएको मतका आधारमा बारा ४ मा पर्ने जितपुर उपमहानगरपालिका १ देखि १० र १९ देखि २४ सम्मका वडाहरुमा गठबन्धनमा आबद्ध दलहरुको मत एमालेको भन्दा बढी छ। सम्बन्धित ठाउँमा पुग्दा पनि गठबन्धनको पक्षमा स्थानीयहरु खुलेको पाइयो। १०, ८, ९ नम्बर वडाको संगम देहरा चोकमा बुधबार दिउँसो भेला भएका स्थानीयहरुले नयाँ व्यक्तिलाई मत दिने खुलेर बताए। वडा नम्बर १० का भरत दासले भोजपुरीमा भने, ‘चुनाव जितेपछि एकपटक पनि नआउनेलाई भोट दिँदैनाैँ।’
दासको भनाइमा ९ नम्बर वडाका सिताराम सोहन र ८ नम्बरमा घर भएका रामचन्द्र राउतले सही थपे। राउतले भने, ‘यसअघि अरुलाई जिताइयो अब नयाँलाई हेर्ने हो यसपटक केही गर्छ कि?’


भर्खरै
लोकप्रिय






































































































































































































