
काठमाडाैँ – ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री तथा ललितपुर- ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले मतदाताहरू आफूप्रति सकारात्मक रहेकाे जित पक्का रहेकाे बताएकी छन् ।
बिहीबार ललितपुर- ३ अन्तर्गत हरिसिद्धीमा घरदैलोमा कुराकानी गर्दै विगतमा आफूले सुरु गरेका काम पूरागर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको र यसकाे लागि जनता पनि सकारात्मक रहेकाे बताएकी हुन् ।
आफूले विगतका दिन देखिनै साे क्षेत्रका लागि धेरै राम्रा कामहरू गरेकाे बताउँदै जनताले त्यसकाे मूल्यांकन गरी यही मंसिर ४ गतेका लागि तय भएकाे निर्वाचनमा पनि आफूलाई नै विजयी गराउने उनले बताएकी हुन् ।
‘माहोल सकारात्मक छ । यो अन्तिम घरदैलो हो । आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ । २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ । मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ । अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ । यो घोषणा मैले जनताको बीचमा राखेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उनले भनिन्,’जित्ने नै माहोल छ । हामी गठबन्धनमा छौँ । हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दापनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ । अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरु, नेताहरुको खटाइले अझ सहज हुनेछ ।’
यसका साथै उनले आफ्नाे प्रमुख एजेण्डा आर्थिक विकास भएकाे बताएकी छन् । उनले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताएकी हुन् ।
मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गरिन् ।