काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको आरोप लगाएका छन्।
लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं–२ द्वारा काठमाडौँमा बिहीबार आयोजित चुनावी सभामा अध्यक्ष नेपालले परमादेशबाट बनेको सरकार भनेर ओली एन्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणीसमेत गरे।
तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै ०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुटो प्रचार गरिरहेको अध्यक्ष नेपालको भनाइ थियो।
उनले जनताले दिएको मतलाई स्विकारेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपिल गरे।
उनले भने, ‘सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन। यदि, संसद्मा बहुमत नभएको भए, संसद्मा बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्वीकार गर्ने अवस्था बन्ने थिएन। परमादेशबाट बनेको सरकार भनेर केपी ओली एन्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ। त्यो अत्यन्तै आपत्तिजनक छ।’ अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्ष गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे।

भर्खरै
लोकप्रिय






































































































































































































