काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताए।
उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टी पापीहरूले भरिएको भनी टिप्पणी गरे।
उनले संसद्मा सबै पार्टी चाहिने उल्लेख गर्दै संसद्मा गएर राप्रपाका नेताहरूले खबरदारी गर्ने बताए।
उनले मुलुकको संरक्षण गर्ने एक मात्र विकल्प राप्रपा भएको बताए।
उनले भने, ‘मंसिर ४ गते एउटा ठूलो मौका छ। एउटा अवसर यो दुईवटा ठूला पार्टी पापीले भरेको पार्टीबाट मुलुक चोख्याउनुपर्छ। हामी सनातनधर्मी, हामी यो मुलुकप्रति इमान र धर्म राख्ने पार्टी। हामी ४ गते पापीबाट मुलुकलाई मुक्त गर्छौं। तिनीहरू पनि संसद्मा होलान्। प्रजातन्त्र हो सबै संसद्मा हुनुपर्छ। चाहे माओवादी, चाहे एमाले, चाहे मेरो ज्वाइँको पार्टी। सबै बसुन्। तर, त्यहाँ गएर खबरदार गर्ने यसपालि हुन्छ कुन्ती। म एक्लै पर्दिनँ। त्यसैले यो अबसर नेपालको भाग्य निर्माण गर्ने मौकामा राप्रपा चुक्दैन। हामीलाई बज्रयोगिनी देवीको आशीर्वाद छ। उहाँलाई ज्ञान छ, यो मुलुक जोगाउन, यसको संरक्षण गर्न संसदमा एउटै विकल्प राप्रपा हो। अब छिट्टै हामी सबै गई त्यो संसद् थर्काऔँ।’
कार्यक्रममा राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले आफ्नो क्षेत्रमा ३३ वर्षदेखि आएको बजेटको फाइल पल्टाउने बताइन्।
३३ वर्षदेखि सो क्षेत्रमा विकास हुन नसकेको भन्दै उनले क्षेत्रले आफूलाई नै कुरेको बताइन्। उनले क्षेत्र नं. २ बनाउनका लागि आफू आएको बताइन्। पोखरेलले आफ्ना प्रतिस्पर्धीमध्ये सांसद नभईकन नै आफूले युवा, महिला र स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताइन्। उनले भनिन्, ‘३० जनामा दाज्नु म एउटा कुन्ती पोखरेल संसदमा नछिरिकन नै उनीहरूभन्दा बढी काम गरेको छु। तपार्इंहरूले त्यसै कुन्ती पोखरेललाई भोट हाल्नुपर्दैन। तपाईहरूले फाइल पल्टाएर हेरिदिनुस् मैले एम्बुलेन्स दिनुपर्ने ठाउँमा एम्बुलेन्स दिइन कि, युवाहरूलाई विभिन्न जिल्लामा गएर सशक्त उद्यमी बनाएर उद्यम गर्न सघाइन कि, महिलाहरूलाई सशक्त रुपमा उद्यमी बनाइन कि, स्वास्थ्य शिविरहरू चलाइन कि काम के गरिन कुन्ती पोखरेलले ? बुझिदिनुस्। यो क्षेत्र बनाउने जिम्मेवारी ३३ वर्षदेखि कुरेको छ कुन्ती पोखरेल आएको छु अब यो क्षेत्र बनाउन। तपाईंहरूको साथ दिनको लागि। राष्ट्र र राष्ट्रियताको लागि ज्यान दिन तयार छु। कहाँ विकास गर्नुपर्छ मैले बुझेको छु। म कति बजेट आएको छ फाइल पल्टाउनेवाला छु ३३ वर्षदेखिको यहाँको बजेट हेर्नेछु।’
उनले आफ्नो जित निश्चित भएको दाबी गरिन्। उनले क्षेत्रको विकासका लागि जनतासँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भर्खरै
लोकप्रिय






































































































































































































