
काठमाडौँ – झापाका दुई मतदान केन्द्रमा प्रतिनिधिसभामा खसाउनुपर्ने मत प्रदेशसभामा खसाइएपछि केहीबेर मतदान कार्य रोकिएको छ।
झापाको गौरीगञ्ज- ४ को ठेकीचोला मतदान स्थल र मेचीनगर १४ को बालचौतारी मतदान स्थलमा विवाद भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताएका छन्।
‘निर्वाचनमा खटिएका कर्मचारीहरूको सुदबुझ नभएको कारणले विवाद उत्पन्न भएको हो। यी दुवैस्थानमा करिब १० वटा जति मत प्रतिनिधिसभामा खसाउनुपर्ने मत प्रदेशसभामा खसाइएपछि विवाद भएको हो।’ उनी भन्छन्, ‘त्यहाँ छलफल भइरहेको छ केहीबेरमै मतदान पुन सञ्चालन हुन्छ।’
त्यस्तै, झापामा मतदान सम्पन्न भए पश्चात् आजै मतगणना सुरु गरिने भएको छ।
जिल्ला निर्वाचन कार्यालयले आजै रातिबाट मतगणना सुरु गरिने नेपालले बताएका छन्। एउटा मतगणनास्थलमा तीन-तीन टोली बनाएर मत गणना गरिने उनले बताए।
पहिलो गणना प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको र त्यो सकेर प्रदेससभाको प्रत्यक्ष तर्फको गरिने निर्वाचन अधिकारी नेपालले बताएका छन्। दुवै सभातर्फको समानुपातिक तर्फको मत अन्तिममा गणना गरिने उनले जानकारी दिए।
‘बेलुका ९ बजेदेखि ढिलोको ११ बजिसम्ममा सबै ५ वटै निर्वाचन क्षेत्रको मतपत्र संकलन गरीसक्ने र सर्बदलीय बैठक बसेर आजैबाट मतगणना सुरु गर्ने तयारी भएको छ।‘ उनी भन्छन्, ‘मतगणना स्थलहरु सबै तयारी भइसकेका छन्।’
झापामा पाँच संघीय निर्वाचन क्षेत्र र १० प्रदेशसभा अन्तर्गतको २८४ मतदान स्थल र ७६६ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। झापामा कुल ६ लाख ६३ हजार ३११ जना मतदाता रहेका छन्।