काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित हुनुपरेको अलिकति दु:ख लागेको तर देश रुपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको बताएका छन्।
काठमाडौँ क्षेत्र नम्बर एक प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता सिंहसँग मिश्र १ सय २५ मतले पराजित भएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले यस्तो बताएका हुन्।
मिश्रले विज्ञप्तिमा भनेका छन्,‘गत पाँच वर्षको मेरो उतार-चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।
‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिन! यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।’
उनले भनेका छन्,‘धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ। अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म “कर्म गर फलको ‘भर’ नपर’ भन्ने मान्यता राख्दछु। कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु। तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।’

भर्खरै
लोकप्रिय






































































































































































































