
काठमाडौँ – गुल्मी २ बाट एमालेका गोकर्ण विष्टसँग पराजित भएकी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीकाे विकास र समृद्धिका लागि विष्टकाे साथमै रहने बताएकी छन्।
विष्टकी प्रतिष्पर्धी रहेकी झाँक्रीले पराजित भएपछि जय र पराजय सामान्य प्रक्रिया भएको बताउँदै आफूले सहज रूपमा लिएको र गुल्मीका्े विकासका लागि आफूले विष्टलाई साथ दिन तयार भएकाे बताएकी हुन्।
राजनीतिक रूपमा कुनै समयका सहयात्री रहेका विष्ट र झाँक्रीबीच यसपालिकाे निर्वाचनमा कडा टक्कर देखिएकाे थियाे।
सत्ता गठबन्धनकाे साथ पाएकी झाँक्रीले विष्टलाई सामाजिक सञ्जालमार्फत् बधाई तथा शुभकामना समेत दिएकी छन्।
‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ। डर लाग्दो छ।’ सामाजिक सञ्जालमा उनी लेख्छिन्, ‘जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु।’
यसका साथै उनले आफ्नो पक्षमा हजारौँ मतदाताले अभिमत दिएकोप्रति सधैँ ऋणी रहने बताएकी छन्।