वीरगञ्ज – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नराम्ररी हार व्यहोरेपछि नेकपा एमाले पर्सामा भाँडभैलो मच्चिएको छ।
चुनावमा पार्टीले लज्जास्पद हार व्यहोरेपछि अन्तर्घात गरेको भन्दै कारबाही गरिएको हो। निर्वाचन समीक्षा गर्न बसेको एमाले सचिवालय कमिटी बैठकले अन्तर्घात र बागी उठ्नेहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरी कारबाही गरेको जिल्ला कमिटी अध्यक्ष जयप्रकाश थारूले जानकारी दिए।
पार्टीलाई चुनावमा हराउन भूमिका खेल्नेहरूलाई कारबाही गरिएको थारूले बताए। सचिवालय कमिटीको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उनले बताए।
कारबाहीमा परेका सचिव गुप्ता वर्तमान छिपहरमाई गाउँपालिका अध्यक्ष पनि हुन्। यसैगरी, साधारण सदस्यसमेत नरहने गरी कारबाही पर्नेमा जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारू ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुबास साह कानु, वीरेन्द्र साह कानु जिल्ला सदस्य एवं छिपहरमाई गाउँपालिका–५ का वर्तमान वडाध्यक्ष मौजीलाल साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साका अध्यक्ष थारुले जानकारी दिए।
पर्साको चार क्षेत्रमध्ये एउटामा मात्र एमालेले जितेको छ। प्रदेश सभाको आठ वटै क्षेत्रमा हार व्यहोरेको छ। एमालेले जसपासित गठबन्धन गरेर चुनाव लडेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































