गण्डकीमा गठबन्धनः कांग्रेसलाई फाइदा, माओवादी खुम्चिँदा समाजवादी पत्तासाफ

गण्डकीमा गठबन्धनः कांग्रेसलाई फाइदा, माओवादी खुम्चिँदा समाजवादी पत्तासाफ
+
-

गण्डकी प्रदेशसभाको ३६ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। मतपरिणामले नेपाली कांग्रेसले ठूलो दल बनेको छ। पाँच दलीय गठबन्धनको काँधमा चढेर कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जित्दै ठूलो दल बनेको हो। जबकि कांग्रेस अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ६ सिटमा खुम्चिएको थियो।

गठबन्धनको सबैभन्दा बढी फाइदा कांग्रेसले लिएको छ। प्रदेश सभामा गठबन्धनले कांग्रेसको पोल्टामा २१ सिट दिएको थियो। जसमा कास्की १ ‘ख’ मा दिपक गुरुङ ‘माइला’, पर्वत ‘ख’ मा ऋषिकेश तिवारी र स्याङजा १ ‘ख’ मा बुद्धिबहादुर रानाबाहेक कांग्रेसका १९ उम्मेदवार जित दर्ता गर्न सफल भए।

गण्डकी प्रदेशसभामा समानुपातिकमा खसेको ९ लाख ८५ हजार ८०२ मतगणना हुँदा कांग्रेसले ३ लाख ४९ हजार ६२८ मत पाएको छ। समानुपातिकमा पाएको मतबाट उसले बढीमा ९ सिट पाउन सक्छ। २०७४ मा पनि कांग्रेसले समानुपातिकमा ९ सिट पाउँदा १५ जना सांसद प्रदेशसभामा थिए।

पाँच दलीय गठबन्धनको बाधा छिचोल्दै नेकपा एमालेले १२ सिट जितेको छ। २०७४ को तुलनामा एमाले पनि खुम्चिएको हो। दोस्रो दल बनेको एमालेले समानुपातिकतर्फ १० सिट पाउनसक्छ। हालसम्म एमालले समानुपातिकमा कांग्रेसले भन्दा १८ हजार ३६१ मत बढी पाएको छ। एमालेको पक्षमा ३ लाख ६७ हजार ९८९ मत खसेको छ।

अघिल्लो पटक एमालेले प्रत्यक्षमा १७ सिट जित्दा समानुपातिकबाट १० सिट पाएर २७ सांसदसहित प्रदेशसभामा पहिलो शक्ति बनेको थियो। समानुपातिकमा १० सिट पाएको खण्डमा एमालेका २२ सांसदले प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन्।

पाँच दलीय गठबन्धनको सारथि नेकपा माओवादी केन्द्र भने यसपालि झनै खुम्चिएको छ। यो चुनावबाट प्रदेशसभामा सबैधन्दा धेरै घाटा बेहाेरेकाे माओवादी (नेपाल समाजवादी पार्टी सहित) ले ५ सिट मात्र जितेको छ। समानुपातिकमा माओेवादीले १ लाख १६ हजार ९४५ मत प्राप्त गरेको छ। माओवादीले समानुपातिबाट ३ जना सांसद पाउन सक्छ।

२०७४ सालमा प्रतिनिधिसभामा एमालेसँगको गठबन्धन हुँदा माओवादीले ३६ मध्ये १५ सिट पाएको थियो। त्यसमा ९ जनाले चुनाव जिते। समानुपातिकमा ३ जना आउँदा माओवादीका १२ जना सांसद भएका थिए।

यो पटक माओवादी (नेपाल समाजवादी पार्टीसहित) ले १३ ठाउँमा उम्मेदवारी दिएको थियो। गठबन्धन दलको सबै मत नपाउँदा माओवादीका अधिकांश उम्मेदवार पराजित भएका छन्। गठबन्धनका दल एक अर्काप्रति इमानदार नभएको माओवादीले निष्कर्ष निकालेको छ। माओवादीले नेपाली कांग्रेसबाट मत ट्रान्सफर नभएको ठहर गरेको छ।

नेपाली कांग्रेसमा पार्टीको नीति निर्देशन मान्ने प्रचलन नरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले बताए।

‘माओवादी इमानदार नै देखियो। अरू पार्टीमा इमानदारिता देखिएन। यदि इमानदारिता भएको भए हाम्रा साथीहरू हार्ने थिएनन्’, उनले भने।

गठबन्धनको भागवण्डामा माओवादीलाई थोरै सिट पर्नु स्वाभाविक लिएको बताउँदै उनले भने, ‘उठेका अधिकांश हार्ने भनेको त इमानदारिता देखा परेन नि।’

नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशसभामा १ मात्र सिट पाएको थियो। नवलपुर २ (ख) एकीकृत समाजवादीको पोल्टामा पर्दा गोपाल खनालले उम्मेदवारी दिए। गण्डकीमा साख जोगाउनलाई उम्मेदवारी दिएका खनालले पराजय बेहाेरे।

प्रतिनिधिसभामा पनि समाजवादीले १ मात्र सिट पाएकोमा पराजित भयो। गण्डकीमा प्रदेशसभा र प्रतिनिधिसभामा १ सिट पनि जित निकाल्न नसक्दा समाजवादी पत्तासाफ भएको छ।

कांग्रेसको भोट ट्रान्सफर नहुँदा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएको गण्डकी प्रदेश सचिव प्रतापलाल श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘हामीले जस्तो सोचेका थियौँ त्यस्तो परिणाम आएन। भोट ट्रान्सफरको समस्या रह्यो। कांग्रेस र माओवादीले हामीलाई जस्तो सहयोग गर्न पर्ने हो गरेनन्।’

समाजवादीका उम्मेदवारलाई गठबन्धन दलले विकल्पका रूपमा हेरेर मतदान गरेको उनको भनाइ छ।

यसपटक समानुपातिकबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशसभामा इन्ट्री मार्नेछ। राप्रपाले समानुपातिकबाट २ सांसद पाउने छनक देखिन्छ। राप्रपाले ५९ हजार ४८३ मत पाएको छ। राप्रपाको इन्ट्री हुँदा जनमोर्चा बाहिरिनेछ।

मनाङ (ख) मा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) मतदान अगावै निर्वाचित भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?