
काठमाडौँ – मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम आइसकेको छ। समानुपातिकतर्फको गणना करिब सकिएर सिट बाँडफाँडको चरणमा प्रवेश गरेको भने छ भने प्रत्यक्षतर्फ प्रतिनिधिसभाको १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रको निर्वाचन परिणाम घोषणा भएको छ।
यसपटकको चुनावमा दलहरू दुईवटा गठबन्धन बनाएर होमिएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपासहितका दलहरू एकातिर थिए भने एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरू अर्को गठबन्धन बनाएर चुनावी मोर्चामा गएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले परम्परागत दलहरूको अंक गणितमा फेरबदल ल्यायो भने एमालेले अपेक्षा गरेअनुसार आफ्नो साइज कायम गर्न सफल भयो।
तीव्र प्रतिस्पर्धात्मक बनेको चुनावमा निकै कम मतका कारण धेरै निर्वाचन क्षेत्रमा हारजित भएको छ। दुई सय अझ सयभन्दा कम मतका कारण पनि उम्मेदवारहरू विजयी र पराजय भोग्न बाध्य भए।
एक हजारभन्दा कम मतले मात्रै हारजित भएका क्षेत्र २२ वटा हुन पुगेका छन्। २२ मध्ये ७ वटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जितेका छन् भने ९ वटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले एक हजारभन्दा कम मत फरकमा जितेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले दुई-दुई र स्वतन्त्र उम्मेदवारले एक क्षेत्रमा एक हजार भन्दा कम मतले जितेका हुन्।
कुन-कुन हुन् कांग्रेसले एक हजारभन्दा कम मतले जितेका ९ क्षेत्र?
मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बुले २७ हजार २९७ मत ल्याएर जित्दा यहाँ एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत पाए। मतान्तर ४३० मात्रै रह्यो। सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले ३० हजार ४८३ मत पाएर जित्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए। यहाँ जम्मा ११२ मतको फरक रह्यो।
यसैगरी, धनुषा २ मा कांग्रेसका रामकृष्ण यादवले बल्लबल्ल जित निकालेका छन्। उनले २० हजार ११२ मत पाउँदा एमालेका उमाशंकर अरगरियाले १९ हजार ९५५ मत पाए। यादवले जम्मा १५७ मतले जितेको देखिन्छ। भक्तपुर २ मा रोचक प्रतिस्पर्धाको क्षेत्रका रूपमा भक्तपुर २ पनि रह्यो। त्यहाँ कांग्रेसका दुर्लभ थापाले २४ हजार २३९ मत पाउँदा एमालेका महेश बस्नेतले २३ हजार २८२ पाए। ९५७ मतको मात्रै फरक रह्यो।
यस्तै, काठमाडौँ १ मा कांग्रेसका प्रकाशमान सिंहले काठमाडौँ १ मा जम्मा १२९ मतले मात्रै जिते। उनले ७१४० मत पाउँदा राप्रपाका रविन्द्र मिश्रले ७ हजार ११ मत पाए। कांग्रेसले एक हजार भन्दा कम मतले जितेको अर्को क्षेत्र मनाङ हो। जहाँ कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २४७ मत मात्रै पाए। फरक ३२८ को रह्यो।
मुस्ताङमा पनि कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ९९२ मतले जित्दा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाए। यहाँ ९१४ मतको हारजित भयो।
कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र राज आचार्यले ३९ हजार १४ मत ल्याएर जित्दा एमालेका बृजेश गुप्ताले ३८ हजजार ६९७ मत पाए। फरक ३१७ मतको देखियो। दैलेख २ मा कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत पाउँदा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार ५ मत पाए। त्यहाँ १५३ मतको हारजित भयो।
एमालेले १००० भन्दा कम मतले जितेका ७ क्षेत्र
इलाम २ मा एमालेका सुुवास नेम्वाङले ३० हजार २० मत ल्याएर जित्दा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाए। त्यहाँ ११४ को मात्रै फरक रह्यो।
एमालेले देशैभरबाट सबैभन्दा कम मतले जितेको क्षेत्र पाँचथर हो। जहाँ एमालेका वसन्त नेम्वाङले जम्मा ४७ मतले मात्रै जिते। उनले ३२ हजार ११० मत पाउँदा कांग्रेसका भीष्मराज आङ्देम्बेले ३२ हजार ६३ मत पाए।
ताप्लेजुङमा एमालेका योगेश भट्टराईले जम्मा २०८ मतले जितेका हुन्। उनले २१ हजार ९४३ मत पाउँदा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत पाए।
धनुषा ४ मा एमालेका रघुवीर महासेठले जम्मा १२४ मतले जिते। उनले ३२ हजार २३६ मत पाउँदा कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत ल्याए। सर्लाही ३ मा पनि एमालेका हरिप्रसाद उप्रेतीले ७७० मतले जितेका हुन्। उनले ३२ हजार ९३८ मत पाउँदा माओवादीका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत पाए।
यसैगरी, पर्सा ३ मा पनि एमालेका राजकुरमा गुप्ताले १५१ मतले मात्रै जितेका हुन्। गुप्ताले २४ हजार २६० मत पाउँदा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १०९ मत पाए।
काठमाडौँ ९ मा कृष्णगोपाल श्रेष्ठले ९९५ मतले जितेका छन्। उनले ११ हजार ९५६ मत पाउँदा स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए।
माओवादीले हजार भन्दा कम मतले जितेका क्षेत्र
दोलखामा माओवादीले जम्मा ५१८ मतले जित्यो। माओवादीका गंगा कार्कीले ३६ हजार ९९५ मत पाउँदा एमालेका बालकृष्ण सिवाकोटीले ३६ हजार ४७७ मत पाए।
दाङ २ मा पनि माओवादीले जम्मा १८८ मतले जित्यो। त्यहाँ माओवादीकी रेखा शर्माले २६ हजार ८७७ मत पाउँदा एमालेशका शंकर पोखरेलले २६ हजार ६८९ मत पाए।
एकीकृत समाजवादी
एकीकृृत समाजवादीले दैलेख १ र बझाङ १ मा एक हजारभन्दा कम मतान्तरले जितेको छ। दैलेख १ मा समाजवादीका अम्बरबहादुर थापाले जम्मा ८५२ मतले जितेका हुन्। उनले १८ हजार २७९ मत पाउँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत पाए।
बझाङमा समाजवादीका भानुभक्त जोशीले २८ हजार १४३ मत पाउँदा एमालेका ऐनबहादुर महरले २७ हजार १४५ मत पाए। त्यहाँ जम्मा ९९८ मतको हारजित भयो।
जसपाले जितेका क्षेत्र
यो चुनावमा जसपाले दुई क्षेत्रमा एक हजारभन्दा कम मतले जित्यो। सुनसरी १ मा जसपाका अशोक राईले जम्मा ४५३ मतले जितेका हुन्। उनले १७ हजार ५९ मत पाउँदा स्वतन्त्र पार्टीका गोमा तामाङले १६ हजार ६०६ मत पाए।
बारा २ मा जसपाका रामसहाय प्रसाद यादवले ३५४ मतले जितेका छन्। उनले १३ हजार ८२२ मत पाउँदा माओवादीका शिवचन्द्र प्रसाद कुशवाहले १३ हजार ४६८ मत पाए।
बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले १३६ मतले जिते। उनले २६ हजार ५२० मत पाउँदा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत पाए।