समानुपातिकतर्फ अब ५० हजार मत गन्न बाँकी, कुन दलले कति सिट पाउने भए?

समानुपातिकतर्फ अब ५० हजार मत गन्न बाँकी, कुन दलले कति सिट पाउने भए?
+
-

काठमाडौँ – मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा आइसकेको छ। समानुपातिकतर्फको मतगणना पनि लगभग सकिएर केही हजार भोटको हिसाब मात्रै निर्वाचन आयोगको वेभसाइटमा अपडेट गर्न बाँकी भएको आयोगले जनाएको छ।

आयोगले सोमबार साँझ ५ बजेसम्म १ करोड ४ लाख ३० हजार ४ सय ३९ मतको अपडेट गराएको छ। अब बढीमा ५० हजार मत गन्न बाँकी रहेको र भोलि बेलुकासम्म गनेर सकिने आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले देश सञ्चारलाई जानकारी दिए।

विवाद भएर रोकिएर पछि मतदान भएका जिल्लाहरु दोलखा, बाजुरालगायतको मत गन्न बाँकी रहेको थपलियाको भनाइ छ। थपलियाले भने, ‘अहिले पनि धमाधम मतगणना भइरहेको छ, भोलि बेलुकासम्म समानुपातिकतर्फको सबै नतिजा आउने आयोगले अनुमान गरेको छ।’

हालसम्म गनिसकिएको मत र गन्न बाँकी रहेको केही मतलाई आधार मानेर हेर्दा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले गरेको व्यवस्थाअनुसार हिसाब गर्दा समानुपातिकतर्फका ११० सिटमा कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने लगभग निश्चित भएको छ।

समानुपातिकको लागि सात दलको सिट सुनिश्चित देखिएको छ। कानुनले कूल सदर मतको ३ प्रतिशत मत ल्याए मात्रै समानुपातिकको सिट पाउने व्यवस्था गरेको छ। यसअनुसार थ्रेसहोल्ड कटाउन ३ लाख १२ हजार ६०४ मत आवश्यक हुन्छ। सो मत प्राप्त गर्न नसके समानुपातिकको ११० सिटको भागवण्डामा उक्त दल पर्दैन।

दलहरुले प्राप्त गरेको मतलाई समेत सदर मत नमानिने निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन्, अर्थात थ्रेस होल्ड नकटाएका दलले प्राप्त गरेको मत बदर मानिन्छ।

जारी मतगणनामा ३ प्रतिशतभन्दा धेरै मत ल्याउने दलहरु सात वटा छन्। ती दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी हुन्। यी सात वटा दलले प्राप्त गरेको कूल मतलाई नै सदर मत मानिन्छ र सिट बाँडफाँटको लागि हिसाब गरिन्छ।

समानुपातिकतर्फको जारी मतगणनामा एमाले पहिलो दल बनेको छ। एमालेले २७ लाख ९१ हजार ७ सय मत कटाएको छ। कांग्रेसले २६ लाख ६६ हजार २ सय भोट कटाएको छ। माओवादीले ११ लाख ६२ हजार ९ सय भोट कटाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय भोट ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६ सय, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय र जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय मत कटाएका छन्।

नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन नसक्ने भएको छ। जारी मतगणनामा एकीकृत समाजवादीले २ लाख ९४ हजार ४ सय भोट ल्याएको छ। थ्रेस होल्ट कटाउनको लागि ३ लाख १२ हजार ६०४ मत ल्याउनुपर्ने हुन्छ,जुन असम्भव छ।

समानुपातिकमा एमालेले सबैभन्दा बढी ३३ सिट प्राप्त गर्नेछ। एमालेभन्दा करिब एक लाख कम भोट ल्याएको कांग्रेसले एमालेभन्दा एक सिट कम अर्थात ३२ सिट पाउने छ।

माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)दुवैले ११ लाख भोट कटाएका छन्। रास्वपाभन्दा माओवादीले ३८ हजारभन्दा बढी भोट ल्याएको छ। यी दुवै पार्टीले १४/१४ सिट पाउने छन्।

हालसम्म ५ लाख ८६ हजार ६ सय भोट ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउने देखिएको छ। जनता समाजवादी पार्टी (जसपा)ले र जनमत पार्टीलाई प्राप्त मत हेर्दा यी दुवै पार्टीले ५/५ सिट प्राप्त गर्नेछन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सिट बाँडफाँटको हिसाब गर्न देशभरबाट खसेका सम्पूर्ण मतको एकीकृत हिसाब गनुपर्ने नियम हुन्छ।

यो हिसाब निर्वाचन आयोगले सोमबार दिउँसोसम्म आफ्नो वेबसाइटमा अपडेट गरेको तथ्याङ्कका आधारमा निकालिएको हिसाब हो। यसमा करिब ५० हजार हाराहारी मत मात्रै थपघट हुन बाँकी छ। तर, थप मत सबै पार्टीमा बाँडिने हुनाले र ठूलो संख्यामा मतगणना भइसकेकोले अहिलेको सम्भावित सिट संख्यामा खासै फरक पर्ने छैन।

यस्तो छ प्रतिनिधिसभामा समानुपातिक सांसद चयन प्रक्रियाः


– कुल खसेको मतमध्ये सदर मत छान्ने।

– कुल खसेको मतको ३ प्रतिशतभन्दा बढी अर्थात थ्रेस होल्ड कटाउने दल पहिचान गर्ने।

– थ्रेस होल्ड कटाएका दललाई मात्रै १ सय १० सिट बाँड्ने।

– सिट बाँड्दा दलहरुले प्राप्त गरेको मतलाई १ देखि बिजोर अंकले छुट्टाछुट्टै भाग गर्ने।

– प्रत्यक दलले प्राप्त गरेको मतलाई प्रतिनिधिसभाका १ सय १० वटा सिटसम्म भाग गर्ने।

– यसरी भाग गर्दा समानुपातिकमा धेरै भोट ल्याएका दलले धेरै सिट संख्या र थोरै भोट ल्याएका दलले कम सिट संख्या प्राप्त गर्छन्।

– दललाई प्राप्त भएका सिटबाट ३३ प्रतिशत महिला संसदमा सुनिश्चत हुने गरी वर्ग समूहबाट प्रतिनिधित्व हुने गरी दलबाट प्राप्त बन्दसूची भित्रका नाम छनोट गरेर समानुपातिक सांसद चयन गरिन्छ।

– प्रदेशसभामा पनि यही प्रक्रियाअनुसार समानुपातिक सांसद चयन गरिन्छ तर प्रदेशमा १ दशमलव ५ प्रतिशत मत कटाएका दलबीच प्रदेशका २२० वटा सिट बाँडफाँड गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?