
नेपालगञ्ज – नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै छ। १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई खोज्न सुरु गरिएको हो।
वैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।
‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी गर्यौं, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका छौं, चैत मसान्तसम्म खोप नलगाएका बालबालिकाहरुको लाइन लिष्टिङ गर्छौं, त्यसपछि खोप लगाउँछौं,” बस्नेतले भने, “वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी गर्ने र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले हामी घरधुरी सर्वेक्षणमा जुटेका छौं।”
युनिसेफको सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ। घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि गरिरहेको बस्नेतले बताउनुभयो। हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सम्पन्न भएको छ।
नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइएको थियो। उक्त कार्ययोजना अनुसार घरधुरी सर्वेक्षण भइरहेको छ। कार्यशालामार्फत पूर्ण खोप कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गरिएको छ। वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित पनि गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ।
यसअघि नै पूर्ण खोप घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकालाई बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालिएको हो।
बिहीबार प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत दिवाकर महर्जन, युनिसेफका तथ्यांक व्यवस्थापन अधिकृत टेक्निकल सपोर्ट युनिटका नवीन सुवेदी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीलगायतले विभिन्न वडाको अनुगमन गरेका छन्।
घरदैैलो सर्वेक्षणका क्रममा पूर्ण खोप लगाएको घरमा हरियो, आंशिक खोप लगाएको घरमा कालो र खोप नै नलगाएको घरमा रातो स्टिकर टाँसिएको छ।