काेराेना भय

चीनबाट नेपाल फर्कन चाहने विद्यार्थीप्रति भक्तपुरबासी निदर्यी भएकै हुन् त?

चीनबाट नेपाल फर्कन चाहने विद्यार्थीप्रति भक्तपुरबासी निदर्यी भएकै हुन् त?
+
-

भक्तपुर (खरीपाटी) –  नेपाल विद्युत प्राधिकरणको कार्यालयको गेट सामान्य देखिएको थिएन। प्राधिकरणकाे नाम लेखेको बोर्डको ठ्याक्कै तलपट्टि कालो रंगको तुलमा सेतो अक्षरमा लेखिएको थियो, ‘बाँच्न पाउने सबै नागरिकको अधिकार हो।’

यो तुल यहाँ तीनदिनदेखि टाँगिएको छ। यसमा भक्तपुरका बासिन्दाको आवाज लेखिएको छ,

– नेपाल सरकार खबरदार

– कोरोना भाइरस रोगको उपचार बस्ती एरियामा सार्न पाइँदैन,

– स्थानीयको स्वास्थ्यमा खेलबाड गर्न पाइँदैन

नेपाल सरकारले चीनमा भएका १८० जना नेपालीलाई नेपाल ल्याउने निर्णय गरेपछि भक्तपुरको माहोल खलबलिएको छ।

चाँगुनारायण नगरपालिका वडा नं ६ की बासिन्दा हरिमाया तामाङले भनिन्, ‘सरकारले हाम्रो स्वास्थ्यमा त्यसै खेलबाड गर्न पाउँछ ? चीनजस्तो देशमा कोरोनाले त्यत्रो मान्छे मरिरहेका छन्, यहाँ त्यो रोग लागे हामी के गर्नु ?’

प्राधिकरणको तालिम केन्द्रको सडकपारीको पसले भन्दै थिए, ‘ज्वरो आएको सिटामोल लिनलाई साढे २ किलोमिटर पर कमलबिनायक पुग्नुपर्छ, माक्स भनेको ठाउँमा पाइँदैन। कोरोना संक्रमित यहाँ आए भने हामीले त बाँच्छु भनेर नसोचे पनि हुन्छ।’

पसलमा आएका अर्का पुरुष भन्दै थिए, ‘उनीहरुलाई यहाँ ल्याउने निर्णय गलत छ, एउटा विरुवा बचाउन १० वटा विरुवा नाश गर्नु कत्तिको बुद्धिमानी हो !’

अनि अरु–अरु‍…

चाँगुनारायण–६ का बासिन्दा सन्त वाइवासहितका स्थानीयहरुले खरिपाटीमा चीनबाट ल्याइएकाहरुलाई राख्ने तयारी गरेपछि विरोधमा उत्रिएका छन्।

उनीहरु खरिपाटी तालिम केन्द्रमा चीनबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई राख्ने निर्णय फिर्ता लिन दबाब दिइरहेका छन्। शुक्रबार बसेको चाँगुनारायण नगरपालिकाको छैठौँ नगरसभाले पनि ४ बुँदे सुझावसहित क्वारेन्टाइन केन्द्र भक्तपुरमा बनाउने निर्णय फिर्ता लिन अनुरोध गरेको छ।

चीनको वुहानका नेपालीलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट जोगाउनको लागि नेपाल ल्याउने निर्णय भएसँगै भक्तपुरका स्थानीय बासिन्दामा एक किसिमको त्रास फैलिएको हो।

स्वास्थ्य मन्त्रालयले केही हप्ताअगाडि चीनका नेपाली नेपाल ल्याएर क्वारेन्टनको लागि भक्तपुरको खरिपाटीको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र, सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रिय अस्पतालका हलहरुमा राख्न सकिने बताएको थियो।

त्यसपछि भक्तपुरको खरिपाटीको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका दुई भवन खाली गर्ने काम सुरु भयो। वातावरण तथा समाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० वटा कोठा खाली गरेको थियो।

मन्त्रालयले खरीपाटीमा मात्र १२४ जनालाई राख्ने तयारी गरीरहेको छ। तालिम केन्द्रमा क्वारेनटाइन बनाउन भौतिक पूवार्धार तथा शहरी विकास मन्त्रालयको टोली खटिएको छ।

सोमबार खरिपाटीको तालिम केन्द्रमा सोमबार थप दुई भवन खाली गरिएको छ, तीनदिन अघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गरेको थियो। त्यति भवन अपुग रहेको भन्दै क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशकको क्वाटर खाली गराएको नेपाल विद्युत प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओली जानकारी दिए।

भवन खाली गरिएको ठाउँमा सञ्चारमाध्यमलाई पहुँच दिइएको छैन। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सबिन प्रधानले चीनबाट फर्काइने नेपालीहरु राख्ने ठाउँहरुका बारेमा स्वास्थ्य मन्त्रालयबाट नै जानकारी दिने बताए। उनले सञ्चार माध्यम तथा स्थानीयलाई प्रवेश रोक लगाएको सम्बन्धमा धमाधम काम भइरहेकोले काममा अवरोध नहोस् भन्नका लागि रोक लगाएको बताए।

आक्रोशित स्थानीय बासिन्दाले खरीपाटीको तालिम केन्द्रका गेटमा रुखमा पम्प्लेट टाँसेर गएका छन्। शुक्रबार कालो झण्डा लिएर तालिम केन्द्र पुगेका स्थानीय, राजनीतिक दलहरुले पम्प्लेट रुखमा टाँसेका छन्।

तर उनीहरुको विरोधको सुनुवाई नहुँदै सरकारले चीनलाई फागुनको ३ गते ल्याउने तयारी गरेको बताएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट नेपाल फर्काइएको नेपालीको स्वास्थ्य जाँच तथा हेरचाहका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई सोमबारदेखि प्रशिक्षण सुरु गरेको छ।

हरिमाया तामाङ्ग

प्रशिक्षणमा झण्डै ६० जना मेडिकल अफिसर, डाक्टर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, प्यारामेडिक्स, एम्बुलेन्स चालकलगायतको सहभागिता हुनेछ। सरकारले केन्द्रीय पाँच अस्पताल र ३६ वटा स्याटेलाइट अस्पतालहरुका १४७ वटा आइसोलेसन बेडहरु तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।

यस्तै संक्रमित व्यक्तिहरुका लागि विभिन्न पाँच वटा केन्द्रीय अस्पताल वीर, पाटन, शिक्षण अस्पताल, आर्मी, शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको मन्त्रालयले विज्ञप्ती जारी गरेर बताएको छ। यस्तै मन्त्रालयले खरिपाटीमा नअटेका मानिसहरुलाई चाँगुनारायण नगरपालिका वडा नं ६ स्थित खानेपानी तालिम केन्द्रमा राख्ने निर्णय गरेको थियो।

नगरकोट बासी आक्रमक

विरोधमा उत्रिएका नगरकोटका बासिन्दा।

नगरकोटबाट हुईँकिएर आएको बस कमलविनायक तर्फ नगई चाँगुनारायण नगरपालिकाको भवन तर्फ मोडियो। नगरकोटबाट आउँदा दाहिने तर्फ पर्ने नगरपालिका भवनको कम्पाउन्डमा रोकिएको बसबाट एक एक गरी मान्छे ओर्लन थाले। युवा, वयस्क, बृद्ध, महिला। मंगोलियन अनुहारको बाहुल्यता भएको त्यो हुलमा सन्ते वाइवा पनि थिए, उनी चाँगुनारायण नगरपालिका वडा नं ६ का अध्यक्ष हुन्।

नगरपालिका परिसरमा छिर्दै गर्दा भन्दै थिए, ‘त्यस्तो बिरामीलाई यहाँ ल्याएर हामीलाई मार्न खोजेको ? हामी ल्याउन दिँदैनौँ।’ धेरैको मुख रातो रातो भएको थियो। उनीहरु रिसाएका थिए।

चीनबाट ल्याउने नेपालीहरुका लागि राख्न खाली गरिएका भक्तपुरको खरिपाटीस्थित भवनहरु। तस्बिर : रमेश गिरी

नगरपालिका परिसरमा छिरेपछि समूहलाई वडाअध्यक्ष वाइवाले सम्बोधन गर्दै भने, ‘हाम्रो नगरपालिकामा उनीहरुलाई राख्न हुँदैन भन्ने हाम्रो मान्यता हो। मैले मेयर जीसँग समय लिइसकेको छु, २० जना जति गएर छलफल गर्छौ। तपाईँहरु धैर्य गर्नुहोस्।’

भवनको दोस्रो तलाको सभा हलमा चाँगुनारायण नगरपालिकाको मेयर सोम प्रसाद मिश्र, उपमेयर बिना बास्तोला र प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि तिमल्सिनासहित थिए। वडा अध्यक्षले प्रेस विज्ञप्ती हातमा लिएर आफूहरु त्रासमा भएको बताए। उनले भने, ‘बाँच्न पाउने अधिकार सबैको छ, चीनका दाजुभाइ, दिदीबहिनीलाई नेपाल सरकारले कसैलाई पनि अफ्ठेरो पर्ने ठाउँमा नल्याओस्, हाम्रो बस्तीमा नल्याओस्।’

चाँगुनारायण नगरपालिकाको मेयर सोम प्रसाद मिश्र

‘अहिले एक बसमा हामी विरोध गर्न आएका छौँ, कुरा नसुने गाउँ नै आउनेछौँ।’ विज्ञप्ती मेयरको हातमा दिँदै उनले भने, ‘हामी हाम्रो स्वास्थ्यको जिम्मेवारी नलिइ चीनबाट नेपालीलाई यहाँ ल्याउन दिँदैनौ, जिल्ला प्रशासन कार्यलय र महानगरीय प्रहरी परिसर पनि जान्छौँ।’

नगरपालिकाका प्रमुख मिश्रले आफूले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारले नगरपालिकाको निर्णय सुनाएको बताए। मिश्रले सरकारलाई विकल्प खोज्न अनुरोध गरेको बताए, ‘क्वारेन्टाइन बनाउने विषय नगरपालिकाको छैठौँ नगरसभामा उठ्यो, यो ठाउँ घना बस्तीको बिचमा भएको र स्थानीय नागरिकमा मनोवेज्ञानिक त्रास भएकोले यसको विकल्प खोज्न हामीले भनेका छौँ। यदी जबरजस्ती नेपाल सरकारले यहाँ विद्यार्थी राख्ने हो भने नगरवासीको पूर्ण स्वास्थ्य जिम्मेवारी लिनुपर्छ।’

डेलिगेशनमा कुराकानी भएपछि मेयर मिश्रले विज्ञप्तीमा हस्ताक्षर गरे, अनि टोली जिल्ला प्रशासन कार्यालय जान तम्सियो।

त्यही टोलीमा भएकी निशा तामाङ एकाएक बोल्न थालिन्, ‘मेरो त घरको ठ्याक्कै अगाडि तालिम केन्द्र छ, संगत गर्दिनँ भने पनि जाने ठाउँ छैन। मेरा साना बच्चा छन्। उनीहरुलाई समस्या भए कसले हेर्छ।’

‘त्यसो भए, चीनको विद्यार्थीलाई नेपाल आउँनै नदिने त ?’ भन्ने प्रश्नमा निशाले भनिन्, ‘हामीले नल्याउनु भनेको होइन, हाम्रो घना बस्ती भएको ठाउँमा नल्याउनु भनेका हौँ। कही शिवपुरी अथवा मानव बस्ती भएको भन्दा धेरै टाढा लैजानु भनेका हौँ।’

निशा तामाङ

भक्तपुरमा क्वारेन्टाइन बनाउने खबर बाहिर आएपछि नेमकिपा, नेपाली कांग्रेस, नेकपा अनि स्थानीय बासिन्दाहरु विरोधमा उत्रिए। उनीहरुलाई चीनबाट नेपाली भक्तपुर ल्याए आफूहरुलाई यो रोग सर्ने त्रास छ। उनीहरु बस्तीभन्दा टाढा लग्न जोड तोडले लागि परिरहेका छन्।

यता, वुहानबाट फर्केका डेढ वर्ष अगाडि फर्केका पुरुषोत्तम श्रेष्ठ टोखाबाट दिनहुँ स्वास्थ्य मन्त्रालय धाउछन्, र वुहानमा भएका नेपाली साथीलाई फर्काउने प्रयत्नमा लागिपर्छन्। उनलाई भक्तपुरका बासिन्दा र त्यहाँको नेताप्रति गुनासो छ। ‘नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले जे भन्नुभयो त्यो गलत छ, सबैलाई पीर हुन्छ नि’ उनले भने, उता चीनमा पनि क्वारेनटाइनमा नै राखिएको छ, त्यहाँ चेक गरिराखेको छ। उनीहरुसँग कुनै लक्षण छैन। १८ दिन भित्र बसेका छन्, यहाँ ल्याउदा पनि परीक्षण हुन्छ। नगरिकले बुझेका छैनन्, नागरिकलाई बुझाउन पर्नेमा नेताहरुनै विरोधमा उत्रिएका छन्। वुहानबाट नआए पनि अन्त बाट चाइनिज आइरहेका छन् नि ।’

उनले सरकारले भक्तपुरका नागरिकलाई बुझाउनुपर्नेमा जोड दिए। भन्छन्, ‘सरकारलाई कसरी विश्वास गर्ने, स्वस्थ्य विद्यार्थी ल्याउन पनि कस्तो गारो भएको, भक्तपुरका मानिसलाई सम्झाउन केही गर्नु पर्‍यो। अस्ति कुरा गरेपछि प्रेस विज्ञप्ती निकालेको थियो अब कसले कसले पढे थाहा छैन।’

के भन्छन् चिकित्सक?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाईरस संक्रमित ४ देखी ६ मिटरको दूरीमा भएको अर्को व्यक्तिमा सर्छ। यसको लागि मुख, नाक खुल्ला हुनुपर्छ।

संक्रमित व्यक्तिले हाछ्यूँ गर्दा माक्स लगाएको भएपनि माक्सले नढाकेको ठाउँबाट किटाणु अर्को व्यक्तिमा सर्न सक्छ, साथै संक्रमित व्यक्तिले हाछ्यु गर्दा मुखबाट निश्किएको छिटा कुनै बस्तुमा बसेको हुने र अर्को व्यक्तिले उक्त सामान चलाउँदा किटाणु सर्न सक्छन्।

त्यसैले रुघा, खोकी लागेको व्यक्तिका नजिक सकेसम्म पर्न नहुने बास्तोलाले बताए। बास्तोलाका अनुसार संक्रमित व्यक्तिबाट धेरै जोखिममा स्वास्थ्य कर्मी हुन्छन्, उनीहरुलाई पनि पूर्वतयारीका साथ लगिएको हुन्छ।

बास्तोलाले भाइरस सर्ने कुरा हातको सरसफाईमा भर पर्ने बताए। उनले दिएका सुझावहरु यस्तो छ,

दोस्रो व्यक्तिसँगको सम्पर्कपछि राम्ररी हात धुनुपर्ने

साथै हात मुखमा लैजाने, आँखा मिच्ने, नाक मिच्ने गर्न नहुने

माक्स लगाएको भएपनि प्वालबाट छिर्न सक्छ, माक्स राम्रोसँग लगाउने,

हाछ्यूँ गर्दा छिटा उछिटिएको छ त्यो पर्न नहुन, हातले छोप्न भएन

सर्जिकल माक्स प्रयाेग गर्ने र नियमीत हात धुने

कपडाको माक्स लगाएर हुन्न, कपडाबाट संक्रमण हुन सक्छ।

संक्रमित माक्सलाई डिस इन्फेक्सन राख्न सकिन्छ, गाड्न तथा डिसइन्फेक्टिभ तरिका अपनाएर नाश गर्न सकिन्छ।

रुघा खोकी लागेका मान्छेहरुको नजिक जान भएन,

समूहमा जान भएन

‘चाइनाले लक्षण देखिएको व्यक्तिलाई आउँन दिँदैन, कोरेन्टाइनमा राख्दा रिस्क कम हुन्छ भनेर राख्ने हो। बच्न सकिने सबै प्रयोग गरिन्छ। निश्चित दिनपछि भाइसर निश्क्रिय हुन्छ, लक्षण बिना आएपछि इंकुभेसन पिरियडमा हेर्न राखिने हो। समुदायलाई रिस्क तत्कालै छैन।’

भक्तपुरका मानिसहरु आतंकित भएको विषयमा उनले भने, ‘फू… गर्दैमा भाइरस पर जाँदैन, आत्तिन पर्दैन।’

विश्व स्वास्थ्य संगठनले २ दिनदेखि १४ दिनमा लक्षण देखिन सक्ने अवस्था हुने बताएको छ। चीनबाट फर्किएका पुरुषोत्तम श्रेष्ठका अनुसार चीनका विद्यार्थी १८ दिनदेखि क्वारेन्टाइनमा छन्।

यो पनि पढ्नुहोस्

२० प्रतिशतले घट्यो नयाँ संक्रमण, तर बढ्यो मृत्यु

२० प्रतिशतले घट्यो नयाँ संक्रमण, तर बढ्यो मृत्यु

वुहानबाट फर्किने नेपाली विद्यार्थीलाई राख्‍ने ठाउँ अझै अन्‍योल, सरकार भन्छ, ‘तयारी तीव्र छ’

वुहानबाट फर्किने नेपाली विद्यार्थीलाई राख्‍ने ठाउँ अझै अन्‍योल, सरकार भन्छ, ‘तयारी तीव्र छ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?