
काठमाडौँ- शतायु बाँचेर मंगलबार साँझ आफ्नै निवासमा देहावसान भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा छ।
उनले जीवनका सार खिचेर उक्त महाकाव्य लेख्दै गरेको र आफूलाई प्रकाशनको हतार नरहेको घिमिरेले बताएका थिए।
यद्यपि उक्त महाकाव्यको प्रकाशनअघि नै उनको देहावसान भएको छ।
उनी १९७६ साल असोज ७ गते लम्जुङमा जन्मेका थिए।
पहिलो पत्नीको निधनपछि दोस्रो बिहे गरेका घिमिरे लामो समयदेखि राजधानीको लैनचौरमा बस्दै आएका थिए।
योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेको गौरी खण्डकाव्यमा उनले आफ्नी पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गरेका छन्।
गत असोजमा भव्यतापूर्वक उनको १०१ जन्मदिन मनाइएको थियो।
उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उनी १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन नै बाँचेका थिए।
गत २०७४ साल फागुन २ गते उनलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो।
क्रियाशीलता र गतिशीतला नै आफ्नो स्वस्थ्य जीवनको सूत्र रहेको बताउने घिमिरे सधैँ केही काममा लागि नै रहने उनका छोरा राजीव घिमिरे बताउँछन्।