अद्‌भूत शिल्पकारको दोस्रो कलाकारिता र वैभव सांस्कृतिक नगरी नाला

अद्‌भूत शिल्पकारको दोस्रो कलाकारिता र वैभव सांस्कृतिक नगरी नाला
+
-

पलाञ्चोक भगवतीको कलात्मक आकर्षक मूर्ति बनेपछि फेरि त्यस्तै सुन्दर मूर्ति नबनोस् भत्रे हेतुले तत्कालीन लिच्छवी महारानी राज्यवती (नवसागर) को आदेशानुसार दरबारिया भारदारहरुले कलाकारको दायाँ हातको बुढी औँला र चोरी औँला काटिदिएका थिए। पलाञ्चोक भगवतीको मूर्ति निर्माण पश्चात औँलाहरु काटिएका शिल्पकार अझ बढी हौसिएर रोशी उपत्यकास्थित नालामा गएर ढुंगामा अर्को कलात्मक अठार भुजासहितको उग्रचण्डी भगवती बनाए। यो समाचार थाहा पाएका रानीले कलाकारले बनाएको मूर्तिमा पाठपूजा गरेर उग्रचण्डी भगवतीको प्राण प्रतिष्ठा त गराए, तर कलाकारको दायाँ हात पूरै काट्न लगाए।

किंवदन्ती अनुसार रोशी उपत्यकाको मनमाया पर्वत (तपोवन) स्थित महादेव पोखरीबाट आएको पुण्यमाता र उत्तर–पश्चिमबाट आएको नण्यामाताको संगम उत्ररापुर (नाला) मा शरद ऋतुको पहिलो महिना आश्विनको अष्ठमीका दिन स्वर्गका अप्सराहरु उपबास सहितमाता पार्वतीको पूजामा बसेका थिए । स्वर्गसत्ताबाट मात्तिएका सुन्दरीलम्पट राजा ईन्द्र ब्रत बसेका अप्सराहरु माथि कुदृष्टिसहित उनीहरुको पूजामा बिघ्न पुर्‍याउन थाल्यो। राजा ईन्द्रको घृणित ब्यबहार देखी माता पार्वती उग्रचण्डी भगवतीको रुप धारण गरी पूजा गरिरहेको स्थानमा प्रकट हुनु भई राजा ईन्द्रलाई माखा जस्तै धपाई पठाए। सत्ययुग (किरात काल?) मा नगरिपुर (नाला) का राजा दिर्घरथले पनि उग्रचण्डी भगवतीको छत्रछायाँमा अनुशासित भएर राज्य सञ्चालन गरेको कथा सुनाउँछन् ।

किरात कालमा नालालाई नालाङ्ग भनिन्थ्यो । नालामा किरात बस्ती थियो भत्रे प्रमाण भूमि पूजन क्षेत्र तथा कुमारी पाठी सहितको पूजामा निरन्तरताले पुष्टि गर्दछ । यो शहर पुरानो हो भत्रे प्रमाण मञ्जुश्री नाला भएर नागदह (काठमाडौँ) प्रवेश गरेको इतिहास छ। लिच्छवीकालमा आफ्ना काकाबाट लखेटिएर तन्त्र बिद्यामा पारंगत भई प्रसस्त धन, हिरा, मोती र गर गहनासहित आफ्नो दिदी भृकुटीको दरवार ल्हासाबाट फर्केका नरेन्द्र देवनालामा आइबसे। नालालाई थप विकास, राम्रो वैभव संस्कृति, सु–ब्यबस्थित आदर्श बस्ती बनाउँदै मजबुत लडाकुसहितको किल्ला बनाई छुट्टै नालाङ्गग्राम राज्यको नाम दिए । भिनाजु स्रङ्गचङ्ग गम्पोबाट तन्त्रबिद्यामा दीक्षित राजा नरेद्रदेवले नाला लाई तन्त्रमय बनाउन श्रृष्टिकान्त लोकेश्वर करुणमयको स्थापना साथसाथै शाक्त संप्रदायमा स्थापित उग्रचण्डी भगवतीको न्यास ध्यानमा आफूमात्र होइन, सम्पूर्ण प्रजाहरुलाई सहभागी गराए । राज्य, तन्त्रमय बिद्यामा बलियो भएपछि उनले आफ्ना काका राजा ध्रुव देवलाई मानगृहबाट र जिष्णु गुप्तालाई कैलाशकुट भवनबाट सजिलै धपाएर पठाए । काठमाडौँ उपत्यका र रोशी उपत्यकाका बाक्लो बस्तीको बिच छोटो दुरीमा सुन्दर प्रकृतिको धरातलमा ब्यबस्थित नाला शहर रहेको हुँदा धार्मिक तिर्थाटनका साथमा तान्त्रिक सम्मोहन, बसिभूत बिद्या आर्जनको लागि उग्रचण्डी भगवती मुख्य गन्तब्य बनेको थियो । बिजुली बत्तीको आगमनसँगै यस बिद्याहरुमा ह्रास भएर गएको छ।

अठार भुजा भएको ८० से.मी. अग्लो र ६० से.मी. चौडाइको ढुंगाको उग्रचण्डीको मूर्तीलाई सुरक्षित राख्न र सम्मान दिन राजा नरेन्द्र देवको पालामा सानो मन्दिर बनेको थियो । भक्तपुरका राजा आनन्द मल्ल (देव) ले १२ रौं शताब्दीमा रोशी उपत्यकामा सात गाउँ बिस्तारित गरिँदा देव देवीहरुको मन्दिरहरुमा पनि ध्यान दिएका थिए । मल्ल राजाहरु संस्कृति र संस्कारका पुजारी भएका हुँदा भगवतीका साथै अन्य देव देवीहरुको सम्मानमा कुनै कमी हुन दिएनन् । यस्तै लिच्छवीले सिर्जित ब्यबस्थित शहरलाई मल्लहरुले अझ सु–ब्यबस्थित बनाए । हालको ७.३० मि. लम्बाइ, ६.१० मि. चौडाइ र १९ मि. अग्लो छत्रे शैलीको मन्दिर बनाउन भक्तपुरका राजा जगतज्योति मल्लले ने. सं. ७४१ मा सुरु गरेका थिए । यसमा अष्टमातृका सहित अन्य देव देवीहरु कलात्मक धातु तथा काठका मूर्तिहरु राखेर ने.सं. ७६७ मा राजा जगत प्रकाश मल्लले आकर्षक कलात्मक मन्दिर परिसरको पूर्णता दिए । पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानमा नाला देवीलाई भौतिक रुपमा सातवटा ध्वाका (ढोका) भित्र राखेको तथा तान्त्रिकहरुले तन्त्र बिद्याले बाँधेको हुँदा सानो शहर भए पनि गोरखालीले आफ्नो कब्जामा लिन धेरै दिन लड्नु पर्‍यो।

तान्त्रिकहरुले गोर्खाली फौजसँग लड्न कहिले मौरी पठाउने त कहिले अरिङ्गाल पठाउने त कहिले मानव रहित शून्य शहर बनाउने। गोर्खाली फौजले धेरै दिनको अथक प्रयास पछि भगवतीको शक्ति थाहा पाएका पृथ्वी नारायण शाहले तान्त्रिकहरुकै सहयोगमा नाला कब्जा गर्न सफल भए । भगवतीको महिमा बुझेका मल्ल राजाहरुको पालामा राखिएको सम्पत्तीको गुठीलाई शाहबंशका राजा राजेन्द्रबिक्रम शाहले बि.सं. १९९५ लालमोहर लगाए भने प्रधानमन्त्री पद्मशम्सेरले बि.सं.२००३ मा खडग निशान लगाए ।

स्मार्ट सिटीको वकालत गर्ने अभियन्ता, नयाँ नेपालका योजनाबिद्‌हरुले नालाको पूर्वाधारबाट एक सांस्कृतिक नगरी सहितको पर्यटकीय केन्द्र बनाउन सके स्थानीयकको जीबिकोपार्जनमा स्तरन्नोति र राष्ट्रको सम्बृद्धिमा ईँटा थपिने थियो।

भगवतीमा समय सापेक्ष राजा, रजौटा, ठूला–बडा, भाइ, भारदार, साहू, महाजनहरु बाट मन्दिर निर्माण, अन्य देव, देवीहरु तथा अन्य सामाग्रीहरुको निर्माण तथा सम्पत्ती थप्ने कार्यमा सहयोग गरेको पाईन्छ, साथमा सर्वसाधारण तथा गरिव बर्गहरु जितमान पोडेले आफ्नो क्षमता अनुसार एउटा ढुंगाको खम्बा र फलामे ताल्चा चढाएका छन् भने सेते दमाई र गोपी दमाईले ठूल्ठूला घण्टा राखेको देखिन्छ । लैंगिक तथा छुवाछुत अन्त्यमा लागेका अभियन्ताहरुको लागी उग्रचण्डी भगवती र नालाको वैभव समाज एक उदाहरणीय पाठ हुन सक्छ ।

शाहकालमा पनि भगवतीको भक्ति भावमा कुनै कमी आएन । राजादेखि रंकसम्म आ–आफ्नो इच्छा र क्षमताअनुसार समर्पित भए । कमसल ढुंगामा मूर्ति बनाइएको हुँदा केही भाग खिइएकोले धातुको प्रभामण्डलमा मूर्तिलाई सजाइएको छ । बि. सं. २०४६ को राजनीति परिवर्तनपछि मठ, मन्दिर, धर्म, कर्ममा ह्रास आयो। मठ, मन्दिर तथा ब्यबस्थित शहर खण्डहरमा परिवर्तन हुँदै गए ।

नाला देको संस्कृति र सम्पदाबाट प्रभावित भएका दातृ राष्ट्रले जीर्ण हुँदै गएका ऐतिहासिक सम्पदा सुरक्षा हेतु फ्रेञ्च प्रोजेक्ट मार्फत ईस्वी सन २००२ मा जिर्णोद्वार गरिदिएका छन्, तर पनि नाला दे (पहिलेको शहर) मा फर्काउन सकेनन् । नालाङ्गग्राम लाई सुधार गर्दै मल्ल कालमा सु–ब्यबस्थित गरेर नाला दे (शहर) बनाए । स्मार्ट सिटी शब्द आयात गर्ने नयाँ नेपालका योजनाकारको लागि लिच्छवी तथा मल्लकालमा बनेको सु–ब्यबस्थित, वैभव सांस्कृतिक नाला देको भौतिक पूर्वाधारको ईतिहास उदाहरणीय पाठ हुन सक्छ ।

महाकाली, महालक्ष्मी र महासरस्वती तीनै देवीहरुको स्वरुहरुको एक समष्टि रुप उग्रचण्डी भगवती मानिन्छ । हिन्दु धर्म नेवार समुदायका तान्त्रिक परिवार आचाजु (कर्माचार्य) खलक यहाँका पुजारी छन् । यी पुजारी देःखा (जनै) धारी हुनु पर्दछ । कर्माचार्यले देःखा धारण गरेर आचाजु बत्र धेरै विधिबिधान गर्नु पर्दछ । उग्रचण्डीका पुजारी पंचमोपचार बिधिद्वारा बीरभावबाट नित्य पूजा गर्दछन् । उग्रचण्डी भगवती मूर्तिको प्राण प्रतिस्थापन रानी राज्यवतीले दरवारिया विधि अनुसार गराएको हुँदा देश र दरवारको रक्षाभगवतीले गर्नु हुन्छ भत्रे बिश्वास गर्दथे । राजाहरुले भगवतीसँग प्रत्यक्ष दर्शन पाउँथे र भक्तपुरका राजा त्रैलोक्य मल्ल भगवतीसँग प्रत्यक्ष बार्तालाप गर्ने अन्तिम राजा थिए । राजा जगत ज्योति मल्लको पालामा नेपाल संबत ७४१ मा उग्रचण्डी भगवतीको मूर्तिबाट रगत बगेको देखेपछि देशलाई अनिष्टबाट बचाउन भगवती खुसी पार्न छत्रै शैलीको मन्दिर बनाउन पहल गरे र देशलाई खतराबाट बचाए । बि.सं. २०७१ सालमा पनि पसिना आयो । यसको परिणाम देशले प्राकृतिक बिपत्ति भुईँचालो र भारतीय नाकाबन्दीको समस्या झेल्नु पर्‍यो। हालै बि. सं. २०७७ जेष्ठ २१ गते बुधवार बिहान फेरि पसिना आएको र पसिनालाई मन्दिरका पुजारी सिद्धबहादुर कर्माचार्यले कपासमा राखेर राष्ट्रपति भवन पठाएका थिए। अनिष्टताको संकेत कोरोनाको महामारी र इतिहासमै बलियो सरकार सु–शासन प्रबाह गर्नबाट बञ्चित भएको छ ।

नालामा भगवती मन्दिर भित्र उग्रचण्डीको बाहेक अन्य तीनवटा भगवतीहरुमा पनि पूजा गरिन्छ । यी तीनवटा मूर्तिहरु पहिले विजयापति टोलस्थित द्योःछेमा राखिने गरिएकोमा चोरीकाण्ड भएपछि हाल मन्दिरमै राखिने गरेको छ। तीन मूर्तीहरु मध्ये एउटा अठार भुजा भएकी महिषासुर मर्दिनीको धातुको मूर्ति छ । यो मूर्तिलाई बर्षको दुई पटक इन्द्रजात्राको तृतीया र विजया दशमीको दिन आचाजुले विधिवत पूजा गरेपछि सर्वसाधारणलाई पूजा गर्न दिइन्छ । अर्को हात नभएको मूर्तिलाई बर्षको चारपटक, भाद्र शुक्लपूर्णे, कर्तिक शुक्लपूर्णे, मंसिर शुक्लत्रयोदशी र बैशाख चौथीको दिनहरुमा आचाजुले विधिवत पूजा गरेपछि सर्वसाधारणलाई पूजा गर्न दिइन्छ । तेस्रो खुट्टा फर्किएको मूर्ति विजयादशमीको दिन दैत्य मारेको खुसीयालीमा आचाजुले विधिवत पूजा गरेपछि सर्वसाधारणलाई पूजा गर्न दिइन्छ। नालाबासी खास गरी नेवार समुदायमा भगवतीप्रति अगाध प्रेम, आस्था र बिश्वास छ । यो वैभव समाजका हरेक जातको समुहमा पकाउने तथा पानीका भाँडाहरु, नाप तौलका सामाग्रीहरु, हतियारहरु तथा हिफो जातले तरवारमा भगवतीको बुट्टा (छापा) राखेर बनाएका छन् । यी सामग्रीहरु आ–आफ्नो जातका कर्म र उमेरले थकाली (जेष्ठ)ब्यक्ति रहेको परिवारमा जिम्मा लगाउने चलन छ । यस्ता सामग्री बनाउने जातहरुमा क) कर्माचार्य, ख) किसी, ग) पमाङ्ग, घ) हिफो, ङ) भा, च) दुई, छ) जुगी, ज) दोई र झ) पो आदि छन् । माथि उल्लेखित पूजाका दिनहरु बाहेक अन्य दिनहरुमा आचाजुको सल्लाह अनुसार यी जातिहरुले छुट्टाछुट्टै दिनमा बर्षको एक दिन आ–आफ्ना सबै (सम्बन्धित जातका) परिवारहरुको समयानुकुल पालैपालो बलि सहितको पूजा गर्छन् । आचाजुहरुले कुनै प्राणीको बली दिनुभन्दा पहिले बली दिन योग्य छ छैन भनी हेर्छन् । बली दिनयोग्य प्राणीको आधारमा परिवारको भाकल अनुसारको पूजा सामाग्री तयार गर्न लगाउँछन् । भगवती तथा उनका गंछी (परिवार) हरुलाई पूजा गरेपछि बली दिइने प्राणीलाई पनि तान्त्रिक बिधिअनुसार पूजा र उसको कानमा मृत्यु सन्देश सुनाउँछन् । बली दिइने प्राणीले मृत्यु ईच्छ्या बरण (स्विकार) गरेपछि मात्र भगवतीमा बली दिइन्छ । यो पूजाको दिन खाना बनाउन तथा पकाउन माथि उल्लेखित सामग्री प्रयोग गर्दछन् र ती जातका सपरिवार साथमा बसेर भगवतीको प्रसाद ग्रहण गर्दछन् । नाला भन्दा बाहिरका मानिसहरु पनि साधारण पूजाको अलावा बिशेष पुजा आचाजुको सल्लाह अनुसार गर्दछन् ।

किंबदन्ती अनुसार नरभक्षी दानवको वितण्डा सहन गर्न नसकी महालक्ष्मीले कन्या भेषमा सवार भई दानवको अन्त्य गरेको हुँदा नाला बासीहरु कन्याहरुलाई महालक्ष्मीको प्रतीकमा पूज्ने गर्दछन् । नालामा भगवतीको जात्रा बैशाख शुक्ल तृतीयाको दिन गरिन्छ । अघिल्लो दिन अर्थात द्वितीयाको दिन नाला र आसपासका कन्याहरुलाई मन्दिरको पटाङ्गिनीमा जम्मा गरी पूजा गरिन्छ । जात्राको लागी बनाइएको हातखुट्टा नभएको भगवतीको मुर्ति इपाटोलको द्योःछेबाट निकालेर गुप्त बालमिकेश्वर (महादेव खोला) मा स्नान गराई लगनटोल स्थित भगवती मन्दिरको सोह्रखुट्टे पाटीमा राखेर आचाजुले पुजागरि सकेपछी सर्वसाधारणलाई पूजा गर्न दिइन्छ । जात्राको दिनमा पनि पहिले कुमारी केटीहरुलाई पूजा गरी भोजन गराइन्छ, त्यसपछि महालक्ष्मीको मूर्तिलाई खटमा राखेर कुस्लेहरुको बाजा र अरु भजनहरु सहित वलाक्षे टोल र बिजयापती टोल, सरस्वतीस्थान हुदैं शहर परिक्रमा गराई भगवतीको सोह्रखुट्टे पाटीमा ल्याएर बिश्राम गराइन्छ । महालक्ष्मीको अतिरिक्त महादेव र नारायणको मूर्तीलाई पनि खटमा राखेर यात्रा गराइन्छ । बैशाख शुक्ल पञ्चमीको दिन साँझपख महादेव र नारायणको खट सँगसँगै महालक्ष्मीको खट जुधाएपछि जात्रा सम्पत्र हुन्छ । यो जात्रामा नाला र यस आसपास बाहेक रोसी उपत्यका र काठमाण्डौ उपत्यकाका भक्तजन तथा दर्शनार्थीहरु समावेस हुन्छन् ।

रोसी उपत्यका स्थित बनेपाबाट तीन किलो मिटर र काठमाण्डौ रत्नपार्कबाट चौबिस किलो मिटरको दुरीमा रहेको नाला कालोपत्रे सडक भएर सजिलै यात्रा गर्न सकिन्छ । बिभित्र देव देवीहरुको मन्दिर, मठ र गुम्बाहरुले भरिएको बैभव संस्कृति, सु–ब्यबस्थित सभ्य शहर,राम्रो सदुपयोग, संरक्षण र समय सापेक्ष जिर्णोद्वारको अभावमा खण्डहर भएर जाने सम्भावना देखिएको छ । स्मार्ट सिटीको वकालत गर्ने अभियन्ता, नयाँ नेपालका योजनाबिद्‌हरुले नालाको पूर्वाधारबाट एक सांस्कृतिक नगरी सहितको पर्यटकीय केन्द्र बनाउन सके स्थानीयकको जीबिकोपार्जनमा स्तरन्नोति र राष्ट्रको सम्बृद्धिमा ईँटा थपिने थियो।

यो पनि पढ्नुहोस्

पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष

पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?