
काठमाडौँ – नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटासँग सपथ ग्रहण गरेका हुन्।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको स्थानमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीका आधारमा सांसद चयन गर्न सिफारिस गरेको थियो।
सांसदको सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए।
यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताकोबीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गरे। २०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए।
२०४३ सालमा नेपाल विद्यार्थी संघ त्रीभुवन बहुमुखि क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए।
यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं। ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।