
भक्तपुर – नेकपा एमाले चाँगुनारायणको पहिलो नगर अधिवेशनमा नेताहरुले निरंकुशता लादेको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्।
अधिवेशनको लागि उम्मेदवारी दर्ता गरेकाहरुलाई पन्छाएर पार्टी नेताहरुले सर्वसम्मतको नाउँमा आफूखुसी नगर पदाधिकारीहरुको नाम घोषणा गरेपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले नगर अधिवेशन पुनः गर्नसमेत माग गरेका छन्। पुनः अधिवेशन नगरे उनीहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
नगर अधिवेशनअन्तर्गत निर्वाचनको लागि चाँगुनाराण नगर अध्यक्षलगायतका पदाधिकारीमा दर्जन बढीले उम्मेदवारी दिएका थिए। अध्यक्षमा मात्रै ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निवर्तमान अध्यक्ष रमेश बुढाथोकी, रामेश्वर थापा र रामप्रसाद तिमिल्सेनाले अध्यक्षमा मनोनयन दर्ता गरेका थिए।
उपाध्यक्षमा नकुल राउतले उम्मेदवारी दर्ता गर्दा सचिवमा जयराम बाँस्ताेला, सुवास ढुंगाना र दामोदर काफ्लेले उम्मेदवारी दिएका थिए। त्यस्तै उपसचिवमा महिलातर्फ नारायणी फुयाल निर्विरोध हुँदा उपसचिवमै भागवतराम गेलाल, प्रकाश लामिछाने र राजेन्द्र खड्काले उम्मेदवारी दर्ता गरेका थिए।
तर निर्वाचनमण्डलको नाउँमा एमाले भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको दबाबमा एकतर्फी नगर पदाधिकारी घोषणा गरिएको आन्दोलित नेता कार्यकर्ताहरुले आरोप लगाएका छन्।
अधिवेशनबाट सर्वसम्मत भएको भन्दै एमाले चाँगुनारायण नगर कमिटीको अध्यक्षमा रामप्रसाद तिमिल्सेना, उपाध्यक्षमा जयराम बाँस्तोला, सचिवमा सुवास ढुंगाना र दुई उपसचिवमा भागवतराम गेलाल र नारायणी फुयालकाे नाम घोषणा गरिएको छ। असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमै उक्त घोषणाको विरोध गरेका छन्। उनीहरुले एमाले जस्तो लोकतान्त्रिक पार्टीका नेताहरुले निरंकुशता लादेको भन्दै आपत्ति जनाएका छन्। पार्टी विधानकै बर्खिलाप हुने गरी एकपक्षीय ढंगले घोषणा गरिएको नगर पदाधिकारीहरुलाई अस्वीकार गर्ने अध्यक्षमा उम्मेदवारी दिएका नेता रामेश्वर थापाले बताए। पुनः अधिवेशन गरेर चुनिएको पदाधिकारीहरुलाई मात्रै आफूहरुले मान्यता दिने उनको भनाइ छ।
उनले उम्मेदवारी दिएका आफूलगायतसँग कुनै सल्लाह र सहमति नगरी जिल्लाका नेताहरुले एकलौटी ढंगले निरंकुश शैली अपनाएर आफू पक्षीय नेताहरुलाई पदाधिकारीमा मनोनयन गर्नु सर्वसम्मत हुन नसक्ने जिकिर गरे।
‘अधिवेशनमा एउटा पदमा उम्मेदवारी दिएका व्यक्तिलाई अर्को पदमा ल्याइएको छ’, नेता थापाले भने, ‘त्यसमाथि उम्मेदवारी दिएकाहरुलाई केही थाहै नदिई, एकपटक सल्लाहसमेत नगरी सर्वसम्मतको नाउँमा घोषणा गरिएका पदाधिकारीहरु हामीलाई स्वीकार्य छैन।’
उनका अनुसार सचिव पदमा उम्मेदवारी दिएका जयराम बाँस्तोलालाई नगर उपाध्यक्ष बनाइएको छ। उक्त नेताहरुको निरंकुशताविरुद्ध भक्तपुर सूर्यविनायकस्थित जिल्ला पार्टी कार्यालयमा घेराउ गर्दै विराधे प्रदर्शन गर्ने उनले जानकारी दिए। त्यस्तै पार्टी कार्यालयमा तालाबन्दीसमेत गर्ने आफूहरुको आन्दोलनको कार्यक्रम रहेको उनले बताए।
नेता थापाले चाँगुनारायण नगरपालिकामा पुनः अधिवेशन गर्नसमेत माग गरेका छन्। आफूहरुको माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले बताए।
एमालेको घोषित राष्ट्रिय सम्मेलन कार्यतालिकाअनुसार कार्तिक ९ गते भक्तपुरका ४ वटै नपामा पालिकास्तरीय अधिवेशनअन्तर्गत उद्घाटन समारोह भएको थियो। कार्तिक १० गते चारैवटा नपामा बन्दसत्र भए पनि भक्तपुर र मध्यपुर थिमि नपाले नगर कमिटी निर्वाचित गर्न सकेको छैन। भक्तपुर र मध्यपुरमा पनि अध्यक्षमा आकांक्षी बढी देखिएपछि सर्वसम्मत नेतृत्व चुन्ने प्रयास भइरहेको बताइएको छ। चाँगुनारायणमा नेतृत्व चुने पनि विवाद उत्पन्न भएको छ।
सूर्यविनायकमा भने सर्वसम्मत भएको छ। यहाँ पूर्ववत अध्यक्ष रवीन्द्र सापकोटाका् अध्यक्षमा ७५ सदस्यीय नगर कमिटी चुनिएको हो। जसमा उपाध्यक्ष विनय महत, सचिवमा शिवराम राउत र उपसचिवद्वयमा श्याम श्रेष्ठ र कमला पोखरेल रहेको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए।