
भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका ८ बोडेमा गए राति दुर्घटना हुँदा एकको मृत्यु भएको छ। महानगरीय प्रहरी भक्तपुरका अनुसार मध्यपुर थिमिको धुन्चेपाखाबाट बोडेतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक राजकुमार तामाङको मृत्यु भएको हो।
रामेछापको लिखु गाउँपालिका– ६ घर भई हाल मध्यपुर थिमिको धुन्चेपाखा बस्ने ३५ वर्षीय तामाङ दुर्घटनामा परी गम्भीर घाइते भएका भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनका अनुसार तत्कालै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी सहायक निरीक्षक थलबहादुर बानियाँसहितको प्रहरी टोलीले घाइते तामाङलाई उद्दार गर नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान १२ः४५ बजे तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
उनका अनुसार ठिमी वृत्तबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई घटनास्थल प्रकृति मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ। दुर्घटित स्कुटी महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको छ। असावधानीपूर्वक सवारीसाधन चलाउँदा दुर्घटना हुन गएको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।