काठमाडौं- नेपाल राष्ट्र बैंकले दुबईमा घर बिक्रीका लागि काठमाडौंमा मार्केटिङ गरिरहेका दुबईका रियल स्टेट कम्पनीको नेपाली प्रतिनिधीको खोजीका लागि अनुसन्धान गरिरहेको छ।
नेपालबाट २ हजार ५ सय अमेरिकी डलर भन्दा बढी रकम विदेश लैजान नपाइने भएपनि दुवईका रियल स्टेट कम्पनीले लाखौं डलरका घर बिक्रीका लागि काठमाडौंमा मार्केटिङ गरेका थिए।
देशसञ्चारले नेपालका तारे होटलमा दुवईका कम्पनीले मार्केटिङ गरेको समाचार प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकको अनौपचारिक कारोबार नियन्त्रण ईकाइले सक्रियता बढाएको स्रोतले जनाएको छ।
राष्ट्र बैंक स्रोतले भन्यो, ‘नेपालमा दुबईका कम्पनी स्थानीय साझेदार नभई आएका छैनन्, अहिले स्थानीय साझेदारको पहिचान गर्ने चुनौती छ।’
दुई दिन कार्यक्रम गर्ने भनेर आएका दुबईका रियल स्टेट कम्पनी अजिजी डेभलपर र दमास रियल स्टेटको समुहले दुबईमा घर किन्ने बिषयमा नेपाली व्यवसायीको चाप र चासो बढेपछि दुई दिन समय थप गरेको थियो।
अघिल्लो साता शनिबार र आइतबार बौद्धस्थित हायात होटलमा कार्यक्रम आयोजना गरेका उनीहरुले सोमबार र मंगलबार दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा कार्यक्रम गरेका थिए।
कानुनले निषेध गरेभन्दा बढी रकम नेपाल बाहिर कसरी लैजाने भन्ने नेपाली व्यवसायीको प्रश्नमा त्यो जिम्मा आफूले लिने भन्दै त्यहाँ रियल स्टेटमा लगानी गर्न उनीहरुले प्रोत्साहन गरेका थिए।
कानुन विपरित ठुलो परिणाममा नेपाली मुद्रा बाहिरीने खतरा भए पछि नेपाल राष्ट्र बैंकको सक्रियता बढेको हो।
प्रधानमन्त्रीको मातहतमा रहेको राजस्व अनुसन्धान विभागले पनि घटना प्रति चासो देखाउँदै अनुसन्धान गरिरहेको स्रोतको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































